जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल

भक्तपुर, पौष २३
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिलाई पदमा पुग्ने साधन मात्र ठान्ने र कमाइखाने भाडो बनाउने कार्यले यसलाई बद्नाम गरेको बताउनुभएको हो ।
उहाँले नागरिकमा एकअर्का राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद भएको बताउँदैं देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौती सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहने व्यक्तिले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘हाम्रो राजनीति‚ प्रशासनिक क्षेत्र र समाज चुनौती रहेका छन् । ती सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ । जनतामा राजनीतिप्रति कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ । एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो,’ उहाँले भन्नुभयो ।
नेपालले राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने अनुमान गर्न नसकिने बताउनुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो ।
‘एउटा गठबन्धन अघि बढिरहेको थियो । त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो । यो गठबन्धन कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो ।


पत्रकारले देशको समस्याबारे जनतालाई बताइरहेको तर, यो संगै समस्या समाधानको बाटो समेत सुझाउन सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । पत्रकारिता क्षेत्रलाई नेपाली जनताले असाध्यै बिश्वास गरेको बताउदै यसको पछिल्लो उदाहरण उपप्रधान एवं गृहमन्त्री बन्न सफल रवी लामिछाने भएको उहाँको भनाइ थियो । उहाँले जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिवद्ध हुनुपर्ने समेत प्रष्ट पार्नुभयो ।
सो अवसरमा अध्यक्ष नेपालले भक्तपुर चार जना पत्रकारहरु प्रविणराज जोशी, भरतबन्धु थापा, कविता थापा र नविना खर्बुजा श्रेष्ठलाई नगदसहित पुरस्कृत गर्नुभएको थियो भने भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले स्थापना दिवसको अवसर पारेर पत्रकारलाई पुरस्कृत गर्नुका साथै सांसदहरुलाई सम्मान गरेर प्रशंसनीय कार्य गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पत्रकारका ट्रेड युनियन समस्या हल गर्न प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो राजनीति जीवनको लामो कालखण्ड ट्रेड युनियन आन्दोलनमा बिताएको अनुभवलाई संसदमा श्रमजिवि पत्रकारका श्रम सम्बन्धी समस्या हल गर्न र प्रेस सम्बन्धी कानुन ल्याउन पत्रकारसँग सहकार्य गरी कार्य गर्ने कोइरालाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौंलागाई, केन्द्रीय सदस्यद्धय शान्तराम विडारी र ज्ञानप्रसाद पौडेलले बागमती प्रदेश सरकारले पत्रकार महासंघको काठमाण्डौं उपत्यका प्रदेशसँग सहकार्य नगरेको गुनासो गर्दै प्रदेश सभा सदस्यहरुले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्यहरु सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, किरण थापा, भुवन केशरी श्रेष्ठ, धनेश्वरी प्रजापतिले प्रदेश सभाबाट ऐन कानुन बनाउने सवालमा पत्रकारहरुले पनि मार्ग निर्देशन गर्नुपर्ने र जिल्लाको विकासका साथै प्रदेश सभाबाट प्रेस सम्बन्धी कानुन बनाउने क्रममा महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका उपाध्यक्ष रोजिना थापा, महासंघ भक्तपुरका सल्लाहकार एवम् पुर्व अध्यक्ष तथा उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, काठमाण्डौं अध्यक्ष सूर्य सुवेदी, ललितपुरका सचिव रामहरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै पत्रकारका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।
शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरे शुभचिन्तकले महासंघ भक्तपुरको गतिविधिको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुलोचना श्रेष्ठ राजभण्डारीलगायतको उपस्थिती रहेको थियो ।