व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक

भक्तपुर, पौष २२
जिल्ला प्रशासन कार्यालय भक्तपुरले व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक गरेको छ । बजारलाई उपभोक्ता मैत्री र स्वच्छ बनाउन व्यवसायीलाई जिम्मेवार बनाउन प्रशासनले सो हाते पुस्तिका सार्वजनिक गरेको हो ।
पुस्तिकामा व्यवसायीहरुले अनिवार्य रुपमा पालना गर्नुपर्ने शर्तहरु उल्लेख छ । जसमा व्यवसायीले दर्ता प्रमाणपत्र, कर सम्बन्धी प्रमाणपत्र मुल्यसुची अनिर्वाय रुपमा उपभोक्ताले देखिने गरी राख्नुपर्ने, दर्ता गरेपछि मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने, अनिर्वायरुपमा समयमा नविकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी सो पुस्तिकामा व्यवसायीले मालसामान बिक्रि गर्दा ध्यान पुर्याउनु पर्ने विषय समेत उल्लेख गरिएको छ । बुँदागतरुपमा उल्लेख गरिएका शर्तहरुमा खाद्य, राजश्व, गुणस्तर तथा नापतौल, कृषि, औषधी, मासुजन्य र अन्य व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले के कस्ता सावधानी अपनाउने, उपभोक्ताको हितमा के कस्ता शर्तहरु पालना गर्नुपर्ने भन्ने विषय समावेश गरिएको छ ।
हाते पुस्तिकामा उल्लेख भएका शर्तहरुको पालना भए कुनै पनि व्यवसाय कानुन बमोजिम सञ्चालन भई व्यवसाय उपभोक्ता मैत्री बन्ने विश्वास प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यक्त गर्नुभएको छ ।
जिल्लामा विभिन्न व्यवसाय गरेर बसेका व्यवसायीहरुले आ–आफ्नो व्यवसाय अन्तर्गत अनिवार्यरुपमा पालना गर्नुपर्ने शर्तहरु पूर्णरुपमा जानकारी होस भने हिसावले हाते पुस्तिका प्रकाशन गरेको प्रजिअ शर्माले बताउनुभयो ।
उहाँले विगतमा बजार अनुगमनकाक्रममा देखिएका व्यवसायीहरुको कमी कमजोरीलाई मध्यनजर गरि हाते पुस्तिका तयार गरिएको बताउनुभयो । “अनुगमन गएर व्यवसायीलाई कार्यवाही गर्नु भन्दा व्यवसायीले आफुले पालना गर्नुपर्ने शर्तहरु जानकारी दिन पाए व्यवसायीहरु आफै कार्वाहीबाट जोगिन सचेत हुनेमा विश्वासका साथ हाते पुस्तिका प्रकाशन गरेको हो,” उहाँले भन्नुभयो ।
स्वच्छ बजार कायम गर्ने, उपभोक्ताको हकहित कायम गर्ने, व्यवसायीले पालना गर्नुपर्ने नियमको जानकारी गराउने, अनुचित व्यापार गर्न रोक लगाउने, अनुगमन कार्यलाई निरन्तरता दिदै संयुक्त अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्यका साथ व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरुलाई व्यवसायीको हात हातमा पुर्याउने अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँले स्थानीय तहले पनि आफ्नो क्षेत्रमा व्यवसाय दर्तालाई कडाई गर्नुपर्ने औल्याउदै व्यवसाय दर्ता नहुँदा कर नतिर्ने गरेको, व्यवसायीले सामानको लेबल नराख्ने, राख्दा पनि अनुमति बिना आफै राख्ने, म्याद नाघेका सामानमा आफै नयाँ लेबल टाँस्ने, म्याद गुज्रेका अखाद्य सामान बिक्री गर्ने जस्ता गलत कार्य भइरहेकाले यसलाई रोक्न बजार अनुगमन र कारबाहीलई कडाई गर्ने बताउनुभयो । सो हाते पुस्तिकालाई उद्योग वाणिज्य संघ माफर्त व्यवसायीको हात हातमा पुर्याईने प्रजिअ हर्माले बताउनुभयो ।
उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धरले संघले उक्त हाते पुस्तिकालाई जिल्लाका सबै व्यवसायीको हात हातमा पुर्याउने र व्यवसायीलाई सचेतना प्रदान गर्ने बताउनुभयो । उहाँले बजारमा अनियमितता गर्ने, अखाद्य बस्तु बिक्री गर्ने र गलत गर्नेलाई संघले सहयोग गर्दैन भन्दै बजारलाई स्वच्छ र सुशासन युक्त बनाउन संघ सधै सक्रिय रहने बताउनुभयो ।