एक महिने श्रीस्वस्थानी व्रत शुरु

भक्तपुर, पौष २२
यसवर्षको एक महिने माधवनारायण र श्री स्वस्थानी व्रत आज (शुक्रवार)बाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बसी माधवनारायणको पुजा आराधना गर्ने र श्री स्वस्थानी परमेश्वरीको कथा वाचन गर्ने र श्रवण गर्ने परम्परा रहेको छ ।
विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्यान्ह्मा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् ।
व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
यो अवधिमा व्रतालुहरुले पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवको दर्शन तथा पुजा गर्ने परम्परा रहेको छ । यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ । यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि बताइएको छ ।
विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्छन् । स्वस्थानीको महिमा भएको ३१ अध्यायको स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ । पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद गरिएको बताइन्छ ।
सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ । गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ ।