कोभिड–१९ को संक्रमणबारे सजग हुन जिल्ला प्रशासन कार्यालय भक्तपुरको आग्रह

भक्तपुर, पौष २०
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ को संक्रमणबारे सजग हुन आग्रह गरेको छ । प्रशासनले छिमेकी मुलुक लगायत केही देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको र त्यसले नेपालमा पनि असर गर्न सक्ने जोखिम देखिएको भन्दै आम नागरिकलाई सजग रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा सरोकारवाला निकाय, सुरक्षा निकाय र स्थानीय पालिकाका प्रतिनिधिसमेतको बैठकले ठूलो भेला र धेरै मानिस जमघट हुने कार्यक्रममा आयोजकले अनिर्वाय रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउनुपर्ने निर्णय गरेका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताउनुभयो ।
शर्माले एक सूचना जारी गर्दै सार्वजनिक यातायात र बढी भिडभाड हुने कार्यक्रममा मास्क र सेनिटाइजरको प्रयोग गर्ने र एक आपसमा भौतिक दुरी कायम राख्न आग्रह गरेको छ ।
बैठकले कोभिड–१९ को संक्रमण रोकथामका लागि कोरोना विरुद्धको खोप लगाउन छुट भएकालाई अनिवार्य खोप लगाउन र पहिलो र दोस्रो डोज लगाएकाहरुले बुस्टर डोज लगाउन, जिल्लास्थित सरकारी निकाय, स्थानीय तह, सार्वजनिक निकाय, शिक्षण संस्था, व्यापारिक क्षेत्र, गैर सरकारी संघ संस्था, नीजि क्षेत्र, सञ्चार क्षेत्र र नागरिक समाज सबै पक्षले आ–आफ्नो क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गराउन आग्रह गरेको छ ।