वागमती प्रदेश सभा सदस्य द्वय देवेन्द्र र भावना सम्मानित

भक्तपुर, पौष २०
नेकपा माओवादी केन्द्र भक्तपुर नगर समितिले बागमती प्रदेश सभा सदस्यद्धय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी (भावना) श्रेष्ठलाई मंगलवार सम्मान गरेको छ । माओवादी केन्द्र भक्तपुर नगरको पुर्ण बैठकका क्रममा बागमती प्रदेशका सांसदद्धयलाई सम्मान गरेको हो ।
बैठकमा पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मको प्रमुख आतिथ्यतामा देवेन्द्र र भवनालाई जुजु धौको सगुन र सम्मान पत्रबाट सम्मानित गरिएको हो । सम्मानित हुने दुबै पार्टीका जनयुद्धमा प्रत्यक्ष सहभागी भएका एवम् भक्तपुरका स्थापित पार्टी नेतृत्व हुन् ।
सो अवसरमा प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ ‘भिष्म’ले माओवादीले यथास्थितिबादी पार्टीहरुलाई लतारेर गणतन्त्रमा ल्याइपुर्याएको बताउदै माओवादी केन्द्र युग बदल्ने पार्टी भएको प्रष्ट पार्नुभयो । उहाँले भक्तपुरमा नेमकिपा पंक्तिले माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्ड विरुद्ध दुष्प्रचार गरिरहेको आरोप लगाउनुभयो । “भक्तपुरमा नेमकिपा माओवादी केन्द्रदेखी भयभित छ । त्यसैले नेमकिपाले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डबारे बिष बमन गरिरहेको छ । यस्तो गर्नु इतिहासको नजर अन्दाज हो,” उहाँले भन्नुभयो ।
उहाँले गएको निर्वाचनमा माओवादी केन्द्रको एजेन्डा स्थापित भएको र देशैभरी माओवादीको एजेण्डाले जितेको जिकिर गर्दै फेरि एकपटक माओवादी गर्जिनुपर्ने र जनताको शासनलाई मजबुद पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अर्की सदस्य भावनाले जनयुद्धमा जस्तै वर्तमान जिम्मेवारीलाई पनि आफ्नो क्षमताले भ्याए सम्म देश र जनताको हितमा प्रयोग गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा भक्तपुरको दीर्घकालीन विकासका योजना बनाउने र लागू गर्ने बताउदै त्यसका लागि पार्टी पंक्ति र भक्तपुर बासी सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
बैठकमा पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज देवेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य डिपी ढकाल र जिल्ला संयोजक सुनिल बासुले समसामयिक राजनीतिक विषयमा प्रष्ट पारेको नगर अध्यक्ष राकेश सुवालले बताउनुभयो ।