‘सुरक्षित भक्तपुर’का लागि सहयोग र सहकार्य गर्न प्रहरीको आह्वान

भक्तपुर, पौष १९
जिल्ला प्रहरी परिसर भक्तपुरले ‘सुरक्षित भक्तपुर’का लागि सबै पक्षसँग सहयोग र सहकार्यका लागि आह्वान गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा परिसरले मंगलवार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा परिसर प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले जिल्लामा अपराधिक घटना न्यूनिकरण गरी सुरक्षित बनाउन सबै पक्षको सहयोगको खाँचो रहेको बताउनुभएको हो ।
उहाँले समाजमा हुन सक्ने अपराधिक घटनाको सूचना प्रहरीलाई दिएर आम नागरिकले पनि विना बर्दीको प्रहरीको भूमिका निभाउन पर्नेमा जोड दिनुभयो । उहाँले रात्रीकालिन पैदल गस्ती शुरु गरिएको, सुरक्षा जाँचलाई बृद्धि गरिएको जानकारी दिँदैं त्यसैको कारण लुटपातको घटनामा कमी आएको दावी गर्नुभयो ।
“रातीको समयमा बटुवाको अन्य धनमाल नभए मोवाइल भए पनि लुटिने घटना हुन्थ्यो । मोवाइल पनि नपाए लुटेराले कुटपिट गरेर हिँड्थे । तर अहिले त्यस्ता घटना निकै कम हुने गरेको छ,” उहाँले भन्नुभयो, “यसको मतलव रात्रीकालिन गस्तीले परिणाम दिएको छ ।”
उहाँले भक्तपुरमा खुलेका होटल, लजहरुमा अनैतिक गतिविधि भए होटलनै बन्द गराउने चेतावनी समेत दिनुभयो । “उमेर पुगेको कोही केटाकेटी होटलमा राजीखुसीले बस्छ भने हाम्रो भन्नु केही छैन तर कसैले क्षणिक लाभको लागि कुनै होटलले आफैले मान्छे राखेर, फोन गरेर मान्छे बोलाएर, पैसा तिराएर अनैतिक काम गराउँछ भने समातेर ल्याउने मात्र हैन, होटलै बन्द गराउँछु,” उहाँले भन्नुभयो ।


उहाँले जिल्लामा लागु औषध सेवनका घटनामा समेत उल्लेख्य कमी आएको बताउनुभयो । प्रहरीले दुव्र्यसनीको जक्सनको रुपमा रहेको स्थान पहिचान गरी ती स्थानमा प्रहरी गस्ती बढाएको र दुव्र्यसनीलाई त्यस्ता स्थानमा जान र बस्न नदिएकाले यस्तो घटनामा कमी आएको एसपी केसीले बताउनुभयो ।
उहाँले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनका लागि पत्रकार र प्रहरीबीच सहकार्य र समन्वय हुनुपर्ने बताउँदै प्रहरीका कमीकमजोरीका बारेमा पनि पत्रकारले खुलेर आलोचना गर्न आग्रह गर्नुभयो । उहाँले आफू कुनै स्वार्थ पूर्तिका लागि कोहीको दबाब र प्रभावमा नपर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखी गत पुस १५ गतेसम्मको जिल्लामा भएका अपराधिक घटनाको विवरण प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदैं प्रहरी र नागरिकबीचको सहकार्य बढाउनुपर्ने, अपराधिक घटनाको न्यूनिकरणका लागि सीसी क्यामरा लगायतका प्रविधिको उपयोग बढाउनुपर्ने, प्रहरीले गरेका कार्यको प्रगती विवरण कम्तीमा चार चार महिनामा सार्वजनिक गर्नुपर्ने, कुनैपनि घटनाको सूचना छिटो भन्दा छिटो पत्रकारलाई उपलब्ध गराउनुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।
कार्यक्रममा महासंघका सचिव सन्जीप घिमिरे शुभचिन्तक, सहसचिव हेमराज ढकाल, सल्लाहकार रमेश गिरी, सदस्य हरिसुन्दर छुंका, सञ्जीव प्रसाद दुलाल, पत्रकारहरु कृष्ण प्रजापति, कृष्ण किसी, सुरेश साय्जु, नवराज काफ्लेलगायतले विभिन्न सुझाव दिनुभएको थियो ।