विद्यार्थीहरुलाई लागु औषधबारे प्रहरीको सचेतना कक्षा

भक्तपुर, पौष १९
जिल्ला प्रहरी परिसर भक्तपुरले विद्यार्थीहरुलाई लागु औषधबारे सचेतना कक्षा सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरीले विद्यालयमा लागु औषध सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेको हो ।
परिसरले यसलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । यसै अन्तर्गत मंगलवार भक्तपुर नगरपालिका वडा नं. ६ स्थित गोल्डेन गेट ईङ्गलिस सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरु र शिक्षकहरुलाई सचेतना कक्षा सञ्चालन गरेको परिसरले जनाएको छ । सचेतना कक्षामा शिक्षक र विद्यार्थी गरी ३६ जनाको सहभागिता रहेको थियो ।
प्रहरी प्रभाग व्यासीको संयोजनमा परिसरले आयोजित कार्यक्रममा परिसरका प्रहरी निरिक्षक सुरेश कोईरालाले सहभागीलाई लागु औषधको सेवनले जीवनमा आई पर्ने विभिन्न खाले असरका बारेमा विस्तृतरुपमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा उहाँले लागु औषधको दुव्र्यसनले अपराधिक घटनामा समेत बृद्धि भइरहेकोले लागु औषध समाजमा शान्ति सुरक्षा कायम राख्न पनि चुनौती बन्दै गएकाले यसको न्यूनिकरणका लागि स्थानीय समाजले समेत प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा विद्यार्थीहरुलाई लागु औषधको कुलतमा फस्न नदिन र लागु औषधबारे सचेतना फैलाउन परिसरले अभियानको रुपमा विद्यालयमा सचेतना कक्षा सञ्चालन गरेको प्रनाउ पोण्डेले बताउनुभयो ।