२५ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवसको मुल समारोह काठमाण्डौंमा हुने

भक्तपुर, पौष १८
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा २५ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस, २०७९ को मुल समारोह काठमाण्डौं महानगरपालिकामा आयोजना गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७९ मूल समारोह समितिको सोमवार बसेको बैठकले यसवर्षको राष्ट्रिय भूकम्प सूरक्षा दिवसको मुल समारोह काठमाण्डौं महानगरपालिकामा गर्ने निर्णय गरेको हो । बैठकले दिवस मनाउनेबारे संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरुलाई पत्राचार गर्नेलगायतका निर्णयहरू गरेको छ ।
बैठकमा गृहमन्त्री लामिछानेले भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले तय गरेका कार्यक्रम र व्यवस्थापनहरुबारे आफ्नो धारणा राख्दै भूकम्प सुरक्षा आफैमा गहन विषय भएको हुँदा यसको सुरक्षा र व्यवस्थापनबारे जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी आयोजना गर्ने कार्यक्रमको प्रभावकारिताबारे समीक्षा गर्न आवश्यक भएको बताउँदै राष्ट्रिय भूकम्प सूरक्षा दिवसमा महानगरपालिका र नगरपालिकाहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माणमा मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी संरचना निर्माणको लागि आवश्यक व्यवस्था मिलाउँदै आएको बताउनुभयो ।
उहाँले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुर नपाले माघ २ गते जनचेतनामूलक प्रदर्शनी, ¥याली र भूकम्पसम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम रहेको अवगत गराउनुभयो ।
भक्तपुर नपाले बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ लागू गरी निजी आवासीय भवनहरु भूकम्प प्रतिरोधी बनाउन नगरबासीहरुलाई प्रेरित गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबाट विकास निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणको लागि राष्ट्रिय रुपमै टेवा पुगेको बताउनुभयो ।
नगरपालिकाले विपद् जोखिम न्युनीकरण एवम् पुनःउत्थानको लागि आवश्यक जनशक्ति तयार गर्न तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुहुँदै उहाँले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायतका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
ललितपुर महानपाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता कडाइका साथ लागू भएको कारण २०७२ सालको भूकम्पमा मानवीय र संरचनागत क्षति निकै कम मात्र भएको बताउँदै प्रत्येक वर्ष भूकम्पसम्बन्धी राष्ट्रिय प्रदर्शनी आयोजना गरी जनतालाई यसबारे सचेत बनाउनु उचित हुने बताउनुभयो ।
बैठकमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका सदस्यको रुपमा रहेका विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सरकारी प्रतिनिधिहरुले भूकम्प केन्द्रित नारा तय गर्नुपर्ने, भूकम्पबाट बच्न बलियो र गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने, शैक्षिक संस्थाहरुलाई सचेतना ¥यालीमा सहभागिताको लागि आह्वान गर्नुपर्ने, स्थानीय तहहरुमा खुल्ला ठाउँहरु कायम गर्नुपर्नेलगायतका धारणाहरु राख्नुभएको थियो ।
बैठकमा मन्त्री लामिछानेले बि.सं. २०५५ सालदेखि २०७८ सालसम्मका विषयगत प्राथमिकता समेटिएको ‘नेपालमा भूकम्प सुरक्षा दिवस’ नामक पुस्तक विमोचन गर्नुभयो ।