शुभकामना सहकारीका प्रमुख कार्यकारी अधिकृत दुवालको सम्मानसहित बिदाई

भक्तपुर, पौष १८
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लिलाई उत्कृष्ट बनाउन भूमिका निर्वाह गरेका संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवाललाई संस्थाले सोमवार सम्मानसहित फेरी भेटौंला भन्दै बिदाई गरेको छ ।
संस्थामा ७ वर्ष अनवरत सेवा गरेका दुवालले नयाँ उद्देश्यसहित नयाँ गोरेटो रोज्ने भन्दै प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा दिएपछि संस्थाले उहाँलाई सम्मान सहित बिदा गरेको हो ।
दुवालले सो सहकारीमा २०७२ सालमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा शुरु गर्नुभएको थियो । उहाँले सात वर्षमा संस्थालाई दुईपटक एसियाली सहकारी अवार्ड दिलाउनुका साथै एक पटक बागमती प्रदेशको उत्कृष्ट सहकारी बनाउन सफल हुनुभएको थियो ।
संस्थाको सभाहलमा आयोजित कार्यक्रममा दुवाललाई संस्थाका अध्यक्ष रामप्रसाद कासुला, उपाध्यक्ष निर्मला सुवाल, प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, निवर्तमान अध्यक्ष न्हुँछेकुमार त्वायनाले ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गर्नुका साथै मायाको चिनोसहित बिदाई गर्नुभएको थियो । सो अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुले पनि दुवाललाई मायाको चिनो प्रदान गरी फेरी भेट्ने वाचासहित बिदाई गरेका थिए ।


कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले दुवालको क्षमताको कदर गर्दै आफुल् शुभकामनामा आउन गरेको आग्रह स्मरण गराउँदैं दुवालको अथक मेहनत र परिश्रमले नै सहकारीले आजको उचाई लिएको बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष न्हुच्छेकुमार त्वायनाले संस्थालाई एसियाली अवार्ड दिलाउन दुवालले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै पदिय दायित्व नभएपनि संस्थाको सदस्यको रुपमा संस्थाको उन्नती प्रगतीका लागि साथ सहयोग, सुझाव प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले दुवालसँगको सहकार्य र विगतमा उहाँले सिकाएका सिप र अनुभवलाई सहकारीका अन्य कर्मचारीले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिलन पछि छुट्टिनु पर्ने प्राकृतिक नियम भएपनि त्यसलाई बिदाईका रुपमा नभई फेरी भेटौंलाको रुपमा लिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा दुवालले सहकारीले छुटिने बेलामा प्रदान गरेको सम्मान कहिल्यै नबिर्सने बताउँदै आफूले सहकारीमा ७ वर्ष काम गर्ने क्रममा इमानदारीपूर्वक र खुसी भएर काम गरेको बताउनुभयो ।
उहाँले सहकारीलाई उत्कृष्ट बनाउन आफुसँगै सहकर्मी कर्मचारीहरुको पनि उत्तिकै योगदान रहेको चर्चा गर्दै कर्मचारीहरुलाई खुसी भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि काम गर्दा खुसी भएर गरे मात्रै सफलता हात पर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका कार्यवाहक कार्यकारी अधिकृत रश्मि श्रेष्ठले सहकारीका पूर्व कार्यकारी अधिकृत सुवालले सहकारीका लागि गरेको योगदान सधैं स्मरणीय रहने र उहाँसँग बिताएका पलहरुको सधैं अभाव खडकिने बताउनुभयो ।
संस्थाका सचिप पुष्पलाल तिमिलाले सहकारीको उचाइ बढाउने कामका लागि धन्यवाद दिँदै दुवालको व्यक्तित्व र दक्षताबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष रामप्रसाद कासुलाले एक कर्मचारीको रुपमा दुवालले आज बिदा लिएपनि संस्थाले उहाँको साथ सहयोगको सधै अपेक्षा गरेको बताउनुभयो । दुवालसँग एक कर्मचारीको रुपमा मात्र नभएर अन्य विभिन्न रुपमा सम्बन्ध रहेको बताउँदैं उहाँले संस्थामा दुवालले गरेको योगदान अविष्मणीय रहने बताउनुभयो ।