भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

भक्तपुर, पौष ५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउनुभएको छ । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको मंगलवार शहिद स्मृति खेल मैदानमा उद्घाटन गर्दै स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु खेलकुदमा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले खेलकुद शिक्षाको अभिन्न अंग भएको बताउँदैं विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउँदैं खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि पनि भएको उल्लेख गर्नुभयो ।
उहाँले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं. ९ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भइ चालु अवस्थामा रहेको जानकारी गराउँदैं हाल वडा नं. १० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान र शहिद स्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको अवगत गराउनुभयो ।


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइसँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण हुने बताउँदैं खेलकुद क्षेत्रलाई अझ फराकिलो बनाउँदै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिँदैं उहाँले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीहरुको अधिकारको विषय बनाइनुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले खेलकुदमा हारजित स्वाभाविक भएको बताउँदैै अनुशासन र मित्रताको लागि खेलकुदमा सहभागी हुन खेलाडीहरुलाई हौसला प्रदान गर्नुभयो ।


वडा नं. १ का वडाध्यक्ष तथा नगर खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन÷जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ ओटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला कबड्डी संघका अध्यक्ष विनोद प्रजापति, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा र वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले खेलकुदको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।


प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायत खेलप्रेमीहरुको उपस्थितिमा ¥यालीसहित सुरु भएको थियो । दत्तात्रयबाट सुरु भएको उद्घाटन ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
उद्घाटन कार्यक्रममा निर्णायकका तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रितिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गर्नुभएको थियो भने सोही समारोहमा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए ।