भक्तपुरमा बढ्दैछ मानव अधिकार हननका घट्ना

भक्तपुर, पौष ६
भक्तपुरमा मानव अधिकार हननका घटना बढ्न थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार एक वर्ष अवधीका अपराधिक घटनाको विवरण सार्वजनिक गर्दै भक्तपुरमा मानव अधिकार हननका घटना बढ्न थालेको बताएको हो ।
ईन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार विगत एक वर्षमा भक्तपुरमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका छन । इन्सेकले प्रत्येक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ । सो पुस्तकमा जिल्लामा ईस्वी संवतको एक वर्षभित्र प्रहरीमा दर्ता भएको उजुरीका घटना संलग्न गर्दै आइरहेको छ ।
सोही अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले तथ्यांक सार्वजनिक गर्दै सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एकवर्षको अबधीमा बलात्कारको घट्ना बढेको पाईएको जानकारी दिनुभयो ।
यस अबधीमा महिला तथा बालिका गरि ५१ जना बलात्कारबाट पीडित भएका छन् । चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएका छन् । त्यस्तै आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको छ । ७० जनामाथि अभद्र व्यबहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन् ।
त्यस्तै बहुबिवाहबाट १५ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्सानमा चार जना पीडित भएका छन् । भक्तपुुरमा यो वर्ष १५३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याको अबस्था बिकराल बन्दै गएको छ । १६८ जनाको यो वर्ष सम्बन्ध बिच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरि यो वर्ष ४४४ जना हराएकोमा ४२४ जना फेला परेका छन् ।
यस अबधीमा गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए । भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा बृद्धि भएको गिरीले बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ७५ प्रतिशत हिंसा घर भित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको बताउदै १८ वर्ष मुनिको बालिकाहरु बढी पीडित हुने गरेको बताउनुभयो । बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचित रुपमा व्यबस्थापन गर्न नसक्दा स्थानीय तहमा जानु पर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको बहन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । भक्तपुरका चारवटै स्थानीय तहसँग समन्वय र छलफल गरेर अपराध रोकथाम, हिंसा न्यूनिकरण, उद्धार र पुर्नस्थपना केन्द्र स्ञ्चालन गर्ने लगायतका कार्य अगाडि बढाउने उहाँले बताउनुभयो ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घट्ना भने प्रहरीसम्म नआउने गरेको बताउदै स्थानीय तहले त्यसमा निगरानी गर्नु पर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले संंविधानले दिएको मानव अधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकीले अपराध बढ्दै जाने तर त्यसको कारण पहिचान गरी घट्ना नियन्त्रणका लागि पहल नगर्ने हो भने अपराधमुक्त समाज बनाउन नसकिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ले अपराध नियन्त्रण, मानव अधिकार रक्षाका लागि स्थानीय तह, गैरसरकारी संस्था, पत्रकार महासंघलगायतका सरोकारवाला निकायबीच समन्वय गर्दै समस्या समाधानका लागि अग्रसर हुनुपर्ने औल्याउनुभयो ।

चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरेले स्थानीय तहले बालमैत्री नगरपालिका घोषणा गरेको बताउदै अब पालिकाहरुले आफ्नो वडावडामा मनोसामाजिक परामर्श सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
सूर्यविनायक नगरपालिकाको पूर्वउपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतले स्थानीय तहले न्यायिक समितिलाई समेत जिम्मेवार बनाउन नसकेको बताउदै नगर प्रमुखदेखि कार्यपालिकाले समेत अधिकार हननका घट्ना न्यूनिकरणमा चासो नदिने गरेको सुनाउनुभयो ।