चाँगुनारायणमा नगरस्तरीय कथा, कविता, निबन्ध लेखन र वादविवाद प्रतियोगिता हुने

भक्तपुर, पौष ५
चाँगुनारायण नगरपालिकाले नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता यही पुस ७ र ८ गते हुनेछ ।
प्रतियोगिता अन्तर्गत कथा लेखन पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुनेछ । कथाको शिर्षक कार्यक्रम स्थलमा नै तय गरिने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले बताउनुभयो ।
यस्तै वादविवाद प्रतियोगिता ‘वैदेशिक रोजगार भन्दा स्वदेशी व्यवसाय नै बेश’ शिर्षकमा पुस ७ गते चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित श्रीकृष्ण माविमा हुनेछ ।
त्यसैगरी पुस ८ गते नगरपालिकाको सभाहल तफादम्फोमा कविता लेखन प्रतियोगिता हुनेछ । चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माविमा पुस ८ गते नै निबन्ध लेखन प्रतियोगिता हुनेछ । कविता र निबन्ध दुवै लेखनको शिर्षक पनि कार्यक्रम स्थलमा तय गरिनेछ ।
प्रतियोगितामा चाँगुनारायण नगरभित्रका १४ देखी २४ वर्ष उमेर समूहका युवाहरुको सहभागिता रहनेछ । एक जना सहभागीले कुनै एक विधामा मात्र सहभागिता जनाउन पाईनेछ ।
नगरपालिकालाई दिगो, समतामुलक, समावेशी विकासको गतिमा अघि बढाउँदैं समृद्ध नगर निर्माण गर्न र नगरपालिका क्षेत्र भित्र शैक्षिक गतिविधिहरुलाई प्रभावकारी तथा गुणस्तरीय बनाउन तथा युवाहरुमा रहेको प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बढाउन सो प्रतियोगिता गर्न लागेको नगरप्रमुख जीवन खत्रीले बताउनुभयो ।