विश्वकप फुटबलको उपाधि जितेपछि लाखौं अर्जेन्टिनी सडकमा

भक्तपुर, पौष ५
फुटबलको सर्वोच्च उपाधि फिफा विश्वकप जितेपछि लाखौं अर्जेन्टिनी नागरिक सडकमा निस्केर खुसीयाली मनाएका छन । अर्जेन्टिनाको राष्ट्रिय फुटबल जर्सी आकाशे हल्का निलो धर्के जर्सी लगाएर सडकमा निस्किएका उनीहरुले कप्तान लियोनल मेस्सी र गोलकिपर मार्टिनेजको प्रशंसा गर्दै वाहवाही गरेका छन ।
दुवैले विश्वकपभरि उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपसँगै मेसीले गोल्डेन बल तथा मार्टिनेजले गोल्डेन ग्लब पनि पाएका छन् भने अर्जेन्टिनाकै इन्जो फर्नान्डिस उदीयमान खेलाडी घोषित भएका छन् । यसअघि मेसीले सन् २०१४ को विश्वकपमा पनि गोल्डेन बल पाएका थिए । विश्वकपमा दुई पटक गोल्डेन बल पाउने मेसी एकमात्र खेलाडी भएका छन् । त्यस वर्ष अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।


मध्य एसियाली मुलुक कतारमा आइतवार राती सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलका अर्जेन्टिनाले फ्रान्सलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सन् १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक उपाधि जितेको हो ।
पछिल्लो पटक सन् १९८६ मा लिजेण्ड फुटबलर म्याराडोनाको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले विश्वकप जितेको थियो । सन् १९७८ मा मारियो क्याम्पस प्रेरित अर्जेन्टिनाले पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको थियो ।


विश्वकपको उपाधि जित्नु अर्जेन्टिनाका लागि मात्र नभएर दक्षिण अमेरिकाकै लागि ठूलो महत्व राखेको छ । अहिलेसम्म विश्वकपको उपाधि दक्षिण अमेरिका र युरोपेली देशले मात्र जितिरहेको छ । दुई महादेशबीच कसले विश्वकपको उपाधि जित्ने भन्ने होडबाजी हुने गर्दछ । सन् २००२ मा ब्राजिलले जितेपछि लगातार चारवटा उपाधि युरोपेली देशले जितेको अवस्थामा अर्जेन्टिनाले दक्षिण अमेरिकी राष्ट्रमा परेको विश्वकप उपाधिको खडेरी समेत तोडेको छ ।