फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना बन्यो विश्व च्याम्पियन, मेस्सी सर्वोत्कृष्ट खेलाडी

भक्तपुर, पौष ४
अर्जेन्टिना साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै फुटबलको विश्व च्याम्पियन बनेको छ । अर्जेन्टिना कतारको लुसिल स्टेडियममा आइतवार राती सम्पन्न अति नै रोमाञ्चकारी फाइनल प्रतिष्पर्धामा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्व च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेटको समयमा २–२ गोलको बराबरीमा सकिएको खेलमा थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो ।
टाईब्रेकरमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो । उनले फ्रान्सका किन्सले कोम्यानको पेनाल्टी प्रहार रोकेका थिए । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।


निर्धारित समयको खेलको पहिलो हापमा अर्जेन्टिनाले २–० को सहज अग्रता लिएको थियो । तर खेलको अन्तिम १० मिनेट फ्रान्सका एमबाप्पे चम्केपछि फ्रान्सले रोमाञ्चक बराबरी गर्दै खेल अतिरिक्त समयमा धकेल्यो ।
अतिरिक्त समयमा पनि मेस्सीको गोलले अर्जेन्टिनाले खेलमा ३–० को अग्रता लियो तर लगत्तै एमवाम्पेले गोल गर्दै ३–३ को बराबरीमा ल्याए र खेलको निर्णय टाईब्रेकरमा सम्भव भयो ।
खेलको २३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोलमा परिणत गरेपछि दक्षिण अमेरिकी टोलीले अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो । पेनाल्टी बक्समा ओसमाने डेम्बेललेले एन्जल डि मारियालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।


३६ औँ मिनेटमा डि मारियाले दोस्रो गोल गरे। काउन्टर अट्याकमा मेस्सीले मिलाएको अवसरमा म्याक एलिस्टरले एन्जल डिमारियासम्म सहज बल पु¥याएका थिए । डि मारियाले पेनाल्टी बक्स भित्रबाट सहज फिनिस गरे ।
पहिलो हापमा २ गोलले पछि परेको स्थितीमा फ्रान्सले दोस्रो हाप आक्रमक खेल्न थाले । खेलमा बिस्तारै बल पोसेसन बढाउँदैं फ्रान्सले अर्जेन्टिनामाथि लगातार दवाब बढाए । अर्जेन्टिना बिस्तारै २–० को अग्रता जोगाउने रणनीतिका साथ रक्षात्मक हुँदैं गए ।
यसैक्रममा ८० औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो ।


त्यसको दुई मिनेट पछि एम्बाप्पेले शानदार गोल गर्दै खेल बराबरी गरे । कोलो मुआनीले मिलाएको पासमा उनले वान टच फिनिस गरेका हुन् । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन सकेनन् ।
अतिरिक्त समयको दोस्रो हापमा अर्जेन्टिनाले पुनः अग्रता लियो । खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई ३–२ को अग्रता दिलाए । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे । मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरेपनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।
फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरेर व्यक्तिगत ह्याट्रिक पुरा गर्दै फेरी एक पटक टोलीलाई खेलमा फर्काए । अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल टाईब्रेकरमा गएको थियो ।
पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोल गर्दै खेल बराबरीमा ल्याए । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
जितसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जिते । नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना दोस्रो बनेको थियो । अर्जेन्टिनाले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा स्थान बनाएको थियो तर यस संस्करण पनि तगारो जर्मनी नै बनेको थियो । फ्रान्स भने हारसँगै विश्वकपको उपाधि रक्षा गर्न बाट चुक्न पुग्यो । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
मेस्सी सर्वोत्कृष्ट खेलाडी
फिफा विश्वकप फुटबल २०२२ कतारको उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेको छ । उनले गोल्डेन बल प्राप्त गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।
फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए ।


तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए । नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिए । फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोर्याएका थिए ।
एमवाम्पेलाई गोल्डेन बुट र सिल्भर बल
प्रतियोगितामा फ्रान्सका किलीयन एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते । प्रतियोगितामा उनले ८ गोल गरे । फाइनल अघि गोल्डेन बुट दावेदारमा मेस्सीसँग पछाडी रहेका एम्वाम्पेले फाइनलमा ह्याट्रिक गरेसँगै मेस्सीलाई उछिन्दै गोल्डेन बुट जित्न सफल भएका हुन ।


उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए । एमवाम्पेले उत्कृष्ट खेलाडी बन्दै सिल्भर बल पनि प्राप्त गरे । क्रोएसियाका लुका मोड्रीचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई क्रमशः गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गरिँदै आएको छ । संयोगवश उत्कृष्ट तीन खेलाडी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्न सफल टोलीका जर्सी नम्बर १० रहे ।
गोल्डेन ग्लोभ अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पुरा समय मैदानमा बिताएका थिए ।

मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । यसबाहेक उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा र फ्रान्सविरुद्ध अतिरिक्त समयको इन्ज्युरी समयमा उनले गरेको बचाउले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा गएको थियो ।
मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । ३० वर्षीय उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्दै आएका छन् ।