गान्धी आदर्श माविको टोलीद्धारा वागीश्वरी मावि र कलेजको अवलोकन

भक्तपुर, पौष २
काठमाण्डौंको गान्धी आदर्श माध्यामिक विद्यालयको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजको अवलोकन भ्रमण गरेको छ । वागेश्वरी मावि र कलेजमा भइरहेको असल अभ्यासहरुबारे अनुभव आदान प्रदान गर्न सो भ्रमण भएको हो ।
टोलीलाई स्वागत गर्दै वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयले गर्दै आएको नमूना कार्यहरुबारे जानकारी दिनुभयो । उहाँले छिमेकी कमजोर विद्यालयहरुलाई सँगसँगै अगाडि बढाउन आवश्यक मद्दत गर्दै आएको समेत जानकारी दिनुभयो ।
विद्यालयबाट निवृत्त हुने बेला शिक्षकहरुले के लिएर जाने भन्दा पनि के छोडेर जाने भन्ने सोचेर निवृत्त शिक्षकहरुले विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्न अक्षय कोष स्थापना गरेर जाने गरेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो ।
विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यालयका हरेक कर्मचारी तथा शिक्षकहरुको वर्षको एक दिन बराबरको तलब विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुबाट भारतीय दूतावास, दक्षिण कोरियाको जुत्ता कम्पनीमार्फत विभिन्न शर्तमा विद्यालयको प्रगतिका लागि भनी ल्याएको सहयोगलाई समेत अस्वीकार गरेको क्षण सम्झँदै उहाँले भन्नुभयो, “बरु दुःख कष्ट भोग्न तयार छौं तर केही पाउने लोभमा स्वाभिमानलाई बन्धकी राख्न सकिँदैन ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजमा कार्यरत शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानलाई आफू कार्यरत शैक्षिक संस्थामै अध्ययन गराउँदै आएको जानकारी दिँदै कलेजमा अध्यापनरत शिक्षकहरुको लागि वार्षिक दुई ओटा तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
गान्धी आदर्श मावि व्यवस्थापन समितिका सदस्य गयाप्रसाद उपाध्यायले वागीश्वरीको सामूहिकताबाट आफू प्रभावित भएको बताउँदै यहाँबाट सिकेका कुराहरुलाई आफ्नो विद्यालयको प्रगतिका निम्ति प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्ययन टोलीमा विद्यालयका निमित्त प्रअ छत्रबहादुर कटवाल, सहायक प्रअ कृष्णबहादुर कार्कीसहित ५० जनाभन्दा बढी सहभागी रहेको थियो ।