प्रदेश सरकारको आवश्यकता छैन – अध्यक्ष बिजुक्छें

भक्तपुर, पौष २
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रदेश सरकारको आवश्यकता नरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको उपलक्ष्यमा शनिवार ख्वप अस्पतालको नयाँ भवन उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश सरकारको आवश्यकता नहुने बताउनुभएको हो ।
दुर्गम ठाउँहरुमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाई सक्रिय रुपमा काम गर्न सकेको खण्डमा सरकारको आधा काम सम्पन्न हुने बताउँदैं उहाँले भन्नुभयो, “जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताले निःस्वार्थ रुपमा देश र जनताको सेवामा एकढिक्का हुन आवश्यक छ ।”
देशको परिस्थिति निकै विकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् झन् नाजुक बन्दै गएको बताउनुभयो । “नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा नेपालमा राजनीतिक अस्थिरता बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।
न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्ने कुरा आफैमा गलत भएको औंल्याउँदैं उहाँले नेपालको कार्यपालिका र विधानपालिकामा समेत भारतको छायाँ परेको हुँदा संघर्षको निम्ति देशभक्त जनता एकजुट हुनुपर्ने बताउनुभयो । अध्यक्ष बिजुक्छेंले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न पनि भारतकै सहयोगमा लिनुपर्ने अवस्था आउनु देशको लागि घातक भएको बताउनुभयो ।
सोही क्रममा अध्यक्ष बिजुक्छेंले भक्तपुर नपाबाट प्रकाशित कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिका नामक पुस्तक विमोचन गर्नुभयो ।