माधवी गुरुमाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार शंखमुल घाटमा सम्पन्न

सुनीता तुलाधर, ललितपुर, पौष २ ।
बुद्ध धर्मको पुर्नउत्थानको लागि अतुलनिय योगदान दिदैं आउनु भएका नेपालकै ज्येष्ठ बौद्ध अनागरिका माधवी गुरुमाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार शुक्रवार शंखमुल घाटमा गरिएको छ । महिला जगतको हित र सुखको लागि जीवनभर सघर्ष गरिरहनु भएका अन्यन्त साहसी, निडर, परिश्रमी, दयालु माधवी गुरुमाँको निधन ९२ वर्षको उमेरमा बुधवार बिहानको ३ः४६ वजे सुमेरु अस्पतालमा भएको थियो ।
१८ वर्षको किशोरावस्था नै चन्दमुनि महास्थविरको उपाध्यायत्वमा भारतको कुशीनगरमा गुरुमाँ हुनभएपछि ललितपुर ओकुवहाल निवासी चन्दज्योती शाक्य र लक्ष्मी शाक्यका कान्छी छोरी शुभलक्ष्मी, माधवी गुरुमाँ हुनुभयो ।


प्रवर्जित जीवनको ७ वर्ष पछि, २२ वर्षको उमेरमै माधवी गुरुमाँले वि.सं.२०१३ सालमा यशोधरा बौंद्ध विद्यालयको स्थापना गर्नुभयो, जहाँ गुरुमाँले अनेकौें विषम परिस्थितिलाई झेल्दै महिलालाई शिक्षित तुल्याउन रात दिन लागि पर्नुभयो । वि.सं.२०२२ सालदेखि सोही विद्यालयबाट परियत्ति शिक्षा प्रदान गर्नुभएको थियो । गुरुमाँले नेपाल बौंद्ध परियत्ति शिक्षाको सद्धम्म पालक उपाधि उत्तीर्ण गर्नुको साथै औपचारिक शिक्षामा वि. एड गर्नुभएको छ । वि.संं.२०२५ सालमा माधवी गुरुमाँ गोरखा दक्षिणबाहु चतुर्थद्धारा तत्कालिन महेन्द्रद्धारा विभूषित हुनुभयो ।


आदर्श बौद्ध महिला जस्ता पुस्तकका लेखिका माधवी गुरुमाँले आफ्नो जीवनको ७ दशक बुद्ध धर्मको प्रचार प्रसारमा बिताउनुभयो । उहाँले नयाँ पुस्ताको लागि सुनन्दाराम विहार स्थापना गरि बुद्धको शासन चिरस्थायी गर्ने हेतुले २० जना भन्दा बढी प्रवर्जित शिष्याहरु समेत बनाउनुभएको छ ।
गुरुमाँ नेपालका पाँचौं संघनायक अश्वघोष महास्थविरका बहिनी हुनुहन्छ । गुरुमाँको अन्त्येष्टिमा भिक्षु महासंघ, अनागरिका संघ, भूतपूर्व विद्यार्थीहरु, विभिन्न संघ संस्थाहरुवाट आउनु भएका गन्यमान्य व्यक्तिहरु, श्रद्धालु उपासक उपासिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।