चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाईमा स्थानीयले राखे सुझाव

भक्तपुर, पौष १
चाँगुनारायण नगरपालिकाका स्थानीयले नगरका जनप्रतिनिधि समक्ष विविध समस्या र सुझाव राखेका छन । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पादन गरेका कार्यको सार्वजनिक परिक्षण गरी जनताको धारणा संकलन गर्न पहिलो पटक खुल्लारुपमा वडा नं. १ को न्यौपाने गाउँमा बिहिवार आयोजित सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयले नगरपालिकाले सम्पादन गरिरहेका सेवामा टिप्पणी गर्दै विविध समस्या र सुझाव राखेका हुन ।
कार्यक्रममा वडा नं. १ का स्थानीय माधवप्रसाद न्यौपाने नगरका वडाहरु भुगोलका आधारमा ठूलो भएको र यसले गर्दा सेवाग्रहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदैं वडा विभाजन गर्नुपर्ने सुझाव दिनुभयो । बुँदागतरुपमा धारणा राख्नुभएका न्यौपानेले जग्गाको कित्ताकाट खुलाउनुपर्ने, नगरप्रहरी वडा वडामा पनि राख्नुपर्ने, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिनुपर्ने, मलको व्यवस्था हुनुपर्ने, कृषक समूह गठन गरी नगरपालिकाले किसानलाई सहुलियत दिनुपर्ने, सामूदायिक विद्यालयको पठनपाठनको गुणस्तर बढाउनुपर्ने, एक घर एक धाराको व्यवस्था हुनुपर्ने, सार्वजनिक यातायातको सेवा सुधार हुनुपर्ने, भुस्या कुकुर नियन्त्रण गर्नुपर्ने, वीर अस्पताल र शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका निर्माणको कार्य शुरु हुनुपर्नेलगायतका माग राख्नुभयो ।


अर्का नगरवासी तुलसीलाल बासुकलाले नगरका पुराना बस्तीलाई नमूना बस्तीको रुपमा विकास गरी नगरपालिकाले भवन निर्माणका सहुलियत दिई परम्परागत शैलीको घर निर्माणमा प्रोत्साहन दिनुपर्ने, नगरका पोखरी, पाटी, ढुंगेधाराको संरक्षण गर्नुपर्ने, सार्वजनिक शौचालयको व्यवस्था हुनुपर्ने, भवन निर्माण मापदण्ड पालना भए नभएको बारे भवन निर्माण इजाजतपत्र दिई सकेपछि पनि निरन्तर अनुगमन हुनुपर्ने, भुमिगत पानी उपयोगको नीति बनाउनुपर्ने, चाँगुनारायण मन्दिर संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।
नवराज काफ्लेले खानेपानी उपभोक्ता समितिलाई नियमन गर्नुपर्ने, ज्येष्ठ नागरिक मिलन केन्द्रको अनुदान नियमित गर्नुपर्ने, लक्षित वर्गका कार्यक्रममा लक्षित वर्गलाई नै सहभागिता गराउनुपर्ने, गुनासो पाटीको व्यवस्था हुनुपर्ने, सूचनाको हकको कार्यान्वयन गर्दै वडा वडामा सूचना प्रवाह सहज हुनुपर्ने, नेपाल ईञ्जिनियरिङ कलेजलाई नगरपालिका मातहत व्यस्थितरुपमा सञ्चालन गर्नुपर्ने सुझाव राख्नुभयो ।
ज्येष्ठ नागरिक सूर्यकान्त गेलालले सामाजिक सुरक्षा भत्ता बैंकसम्म गएर लिनजानु पर्दा असहज भएको भन्दै घरघरमा पुर्याउनु पर्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।


वडा नं. ४ का जनार्दन केसीले बाटोको मापदण्ड स्पष्ट र सबैलाई समानरुपमा लागु गर्नुपर्ने बताउनुभयो । अर्का स्थानीय वडा नं. ४ का केशव खनालले जथाभावी गरिएका जग्गा प्लानिङले पुराना र परम्परागत पानीका मुहान तथा स्रोत नष्ट भएकाले अहिले नगरमा पानीको समस्या विकराल बन्दै गएको बताउँदैं त्यस्ता पानीका स्रोतको नियमित मर्मत हुनुपर्ने बताउनुभयो ।
पर्शुराम गेलालले नापीमा भएको पुरानो नक्सा गायव बनाएको र विगतमा नगरपालिकामा समस्या लिएर जाँदा उल्टै धम्की आएको गुनासो राख्नुभयो ।
वडा नं. २ का गणेश पौडेलले सहकारी दर्ता प्रक्रिया खुलाउनुपर्ने, केएमसी अस्पतालले विगतमा आईसीयुसहितको अस्पताल सञ्चालन गर्ने सहमति गरेपनि कार्यान्वयन नगरेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
वडा नं. ४ का लिलामाया पौडेलले सुस्मा कोइराला ट्रष्ट पछाडीको कृषि सडक खोल्नुपर्ने, मनोहरा खोलाको पुलमा सिसी क्यामरा र प्रहरी पोष्टको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
चाँगुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायणको जुन महत्व छ सो अनुरुप स्थानीय तहले महत्व नदिएको, आयस्रोत नहुँदा परम्परागत पुजा, जात्रापर्व रोकिने अवस्था आएको, पर्वपुजाको लागि गुठी संस्थानले दिने खर्च अपुग भएको, सम्पदा क्षेत्रमा जथाभावी निर्माण कार्य भएको गुनासो गर्नुभयो ।
वडा नं. २ का हिम्मत सिं नेपालीले नगरका नदि नाला दुर्घन्धित भएकोले पर्यटन उद्योगलाई समेत असर गरेको बताउनुभयो । झौखेलमा प्रेमबहादुरले भुस्या कुकुरको बिगबिग बढेकोले नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी अनिता न्यौपाने, उदय खड्कालगायतले नगरको वेभसाईट चुष्ट दुरुष्ट राख्नुपर्ने, खुल्ला क्षेत्रको व्यवस्था र बिस्तार गर्नुपर्ने, उपभोक्ता समिति वास्तविक उपभोक्ता समिति हुनुपर्ने, युवा बेरोजगारीको समस्या समाधानका लागि उद्यमशिलता कार्यक्रमलाई जोड दिनुपर्ने लगायत सुझाव दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले सहजीकरण गरेको कार्यक्रममा महासंघले चाँगुनारायण नगरपालिकाका विभिन्न कार्यालयमा स्थलगत अनुगमन गरी सेवाग्राहीले दिएका प्रतिक्रियाका आधारमा तयार गरिएको सेवाग्राही बहिर्गमन अभिमत सन्तुष्टि र नागरिक प्रतिवेदन सर्वेक्षण प्रतिवेदन २०७९ शाखाका सचिव सन्जीप घिमिरे ‘शुभचिन्तक’ले सार्वजनिक गरी वाचन गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रतिवेदन तयार गर्न महासंघले वडा वडामा स्वयम् सेवक खटाएको र सेवाग्राहीबाट प्राप्त प्रतिक्रियाका आधारमा प्रतिवेदन तयार गरिएको स्पष्ट पार्दै नगरपालिकाले प्रदान गरेको जिम्मेवारीलाई धन्यवाद दिनुभयो ।
नगरप्रमुख जीवन खत्रीले सर्वसाधारणबाट प्राप्त सुझाव र गुनासोलाई नगरका विषयत शाखा मार्फत क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल ईञ्जिनियरिङ कलेजले विगतका निर्णय अनुसार कार्य नगरेको, हिसाव किताव पेश गर्न नसकेको, लेखा परिक्षण नभएको कारणले कलेजको बैठक नराखेको स्पष्ट पार्नुभयो ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरामणि सुवेदी, शिक्षा शाखा प्रमुख विरबहादुर खड्का, सूचना अधिकारी निलाकुमारी घिमिरेले स्थानीयले उठाएका गुनासोको संक्षिप्त जवाफ दिनुभएको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु नेपाली कांग्रेसका नगरसभापति शिवहरी केसी, नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोला, नेकपा माओवादी केन्द्रका नरेश खड्काले विकासमा कार्यगत एकता, नीति निर्माणमा ऐक्यवद्धताको नीति अनुरुप नगरपालिकाले गर्ने कार्यको गुण र दोषका आधारमा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।