गोल्डेन बुट र बल दुवैमा मेस्सी दावी बलियो

भक्तपुर, मंसिर २९
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरुको समापनसँगै गोल्डेन बुट र बलको पनि चर्चा हुन थालेको छ । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीले गोल्डेन बुट र उत्कृष्ट खेलाडीले गोल्डेन बल पाउँछन । जारी विश्वकपमा दुवै उपाधिको होडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अग्रस्थानमा देखिएका छन । मेस्सीलाई फ्रान्सका युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले पछ्याईरहेका छन ।
गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५–५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुटको उपाधिका लागि दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा उनीहरुले अन्य खेलाडीलाई गोल गर्न असिस्ट गरेको संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ ।


मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् ।
यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् ।


त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् । मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३–३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।