मध्यपुर थिमिमा ज्येष्ठ नागरिक स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

भक्तपुर, पौष १
मध्यपुर थिमि नगरपालिकाले नगरका ६० पुरा भई ७० वर्ष ननाघेका उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बागमती प्रदेश विमा बोर्डका पदाधिकारीहरु सहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम नगरका ६० देखी ७० वर्ष उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने निर्णय गरेको हो ।


बैठकपछि नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम ६० वर्ष पुरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकहरुको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा नगरपालिकाले गर्ने निर्णय भएको छ ।”
बैठकले ५ जनासम्म परिवार संख्या भएका ज्येष्ठ नागरिकका सबै सदस्यहरुको बिमा वापतको प्रिमियम (योगदान) रकम समेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ । यसैगरी ज्येष्ठ नागरिकप्रति आश्रित बाबु आमा नभएका टुहुरा नाबालकहरु रहेको हकमा परिवारका सदस्य सबैको स्वास्थ्य बिमा प्रिमियम नगरपालिकाबाट व्यवस्था गर्ने भएको छ ।


यसैबीच ज्येष्ठ नागरिक स्वास्थ्य बिमा मध्यपुर थिमि नगरपालिकाले शुक्रवार देखी नै शुरु गरेको छ । नगरपालिकाको बैठक कक्षमा नगरको वडा नं. ७ का वडाअध्यक्ष कृष्ण कुमार प्रजापति, कार्यपालिका सदस्यहरु सरस्वती खड्का र बालकृष्ण परियारको बिमा गरी ज्येष्ठ नागरिक स्वास्थ्य बिमा शुरु गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले जानकारी दिनुभयो ।