मोरक्कोलाई हराउँदैं फ्रान्स विश्वकपको फाइनलमा

भक्तपुर, मंसिर २९
साविक विजेता फ्रान्स अफ्रिकी मुलुक मोरक्कोलाई हराउँदैं कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा बुधवार राती सम्पन्न खेलमा फ्रान्स मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । फ्रान्सले अब उपाधि रक्षाका लागि आइतवार राती अर्जेन्टिनासँग प्रतिष्पर्धा गर्नेछ । यसअघि मंगलवार राती सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।


फ्रान्सलाई जित दिलाउन थिओ हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे । खेलको शुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थपेको थियो । बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।
खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई शुरुआती अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए ।


खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । मुवानीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । उनी ७८ औं मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो । किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुवानीको अघि आएपछि उनले पहिलो टचमै गोल गरे ।


बलियो रक्षापंक्ति रहेको मोरक्कोलाई दुई प्रमुख डिफेन्डरको साथ नहुनु पनि हारको अर्को कारण बन्न पुग्यो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने खेलको २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ गुमाउन पुगे । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो । दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न नसक्दा अन्ततः पराजित हुन पुग्यो । मोरक्कोले अब तेस्रो स्थानको लागि आइतवार राती क्रोएसियासँग प्रतिष्पर्धा गर्नेछ ।