चाँगुनारायणमा चौमासिकको प्रगति समिक्षा सम्पन्न

भक्तपुर, मंसिर २८
चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकको प्रगति समिक्षा गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा आयोजित समिक्षामा विभिन्न विषयगत शाखा र वडा कार्यालयहरुले आ–आफ्नो प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
समिक्षा प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक प्रशासन शाखाले गत आर्थिक वर्ष २०७८÷०७९ मा कुल बजेटको ६७ दशमलव ४९ प्रतिशत खर्च भएको जानकारी दिए । चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्ष चालुखर्च तर्फ ८१.४४ प्रतिशत अर्थात ७३ करोड ४५ लाख ५८ हजार ३४ रुपैंया विनियोजन गरिएकोमा ५९ करोड ८२ लाख ४३ हजार ४०५ रुपैंया खर्च गरेको थियो भने पुँजीगत तर्फ ६७ दशमलव ४९ प्रतिशत खर्च भएको थियो । पुँजीगत तर्फ एक अर्व २६ करोड ४४ लाख ८६ हजार ७५० रुपैंया विनियोजन गरिएकोमा ८५ करोड ३४ लाख ९८ हजार ८९८ रुपैंया खर्च भएको थियो ।
कार्यक्रममा नगरप्रमुख खत्रीले समिक्षामा प्राप्त सुझावका आधारमा आगामी दिनमा योजना कार्यान्वयन र राजश्व संकलनको लक्ष्य अनुरुप रणनीति निर्माण गरी अघि बढ्ने बताउनुभयो । उहाँले पुँजीगत खर्च शतप्रतिश पुर्याउन वडागतरुपमा विनियोजित योजना समयमा सञ्चालन गर्न वडाअध्यक्ष र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संघ र प्रदेश सरकार भन्दा तुलनात्मकरुपमा स्थानीय सरकार स्थायित्व हुने भएकाले स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने बताउनुभयो । राज्यको शासकिय सुशासन र विकास निर्माणमा जनतालाई प्रत्यक्षरुपमा जोड्ने पुलको रुपमा रहेको स्थानीय सरकारको सेवा प्रवाहले नागरिकको राज्यप्रति विश्वास पैदा गर्ने भएकोले स्थानीय सरकारले नागरिक सुशासन, पारदर्शिता, जवाफदेहिता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पहिलो चौमासिकमा पुँजीगत खर्च कम देखिएको टिप्पणी गर्दै संघ, प्रदेश र स्थानीय तहका योजना विनियोजन गर्दा दोहोरिने समस्या रहेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रलाई बढी ध्यान दिँदा भौतिक पुर्वाधारलगायतका योजना कार्यान्वयनमा कमी आउन सक्नेतर्फ स्थानीय तह सचेत रहनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक जग्गा अतिक्रमण गरेका उजुरी धेरै आउने गरेको बताउँदैं सार्वजनिक जग्गाको एकिन गरी त्यसको संरक्षणका लागि स्थानीय तहले ठोस कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।