ज्योति माविमा विद्यार्थीलाई कविता लेखन प्रशिक्षण

भक्तपुर, मंसिर २८
भक्तपुरको सूर्यविनायक वडा नं. ७ गुण्डुको किवाचोस्थित ज्योति माध्यमिक विद्यालयले बुधवार विद्यार्थीका लागि कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउन र विद्यार्थीलाई कविता लेखन सीपको आधारभूत ज्ञान दिनका लागि सो प्रशिक्षण दिइएको विद्यालयले जनाएको छ ।
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिएर उनीहरुमा रहेको सिर्जनात्मक क्षमता वृद्धि गर्न प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकीले बताउनुभयो ।
अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालको संसारमा भुल्दै गर्दा उनीहरुमा क्रमशः लेखन सिर्जनशीलतामा ¥हास आउँदा त्यसको असर पढाइ र व्यवहारमा समेत परेको उल्लेख गर्दै सोलाई न्यूनीकरण गर्न सो प्रशिक्षण कक्षा चलाइएको उहाँले बताउनुभयो । प्रशिक्षणले विद्यार्थीको साहित्यप्रति रुचि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
सो विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरु सञ्चारकर्मी एवम् स्रष्टा हरिसुन्दर छुकांले कविता लेख्ने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक छुकांले भाषालाई सुन्दर बनाउनका लागि कविता लेखनले सघाउने चर्चा गर्दै साहित्यिक कृति अध्ययन गर्दै लेख्ने अभ्यासलाई दैनिकी बनाउन जोड दिनुभयो । उहाँले मोबाइल तथा सामाजिक सञ्जालमा बढी समय बिताउनु भन्दा बढी विभिन्न जानकारीमूलक र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
सो क्रममा प्रशिक्षक छुकांले साहित्यको इतिहास, महत्वबारे चर्चा गर्दै कविताको प्रकार, कविता लेख्ने तरिकाबारे जानकारी दिनुभएको थियो । उहाँले विद्यार्थी जीवनका लागि कविता र साहित्यको महत्वबारे प्रष्ट पार्दै साहित्यले व्यक्तित्व विकास, क्षमता विकासमा सहयोग गरी पठनपाठनमा पनि सहयोग गर्ने चर्चा गर्नुभयो ।
प्रशिक्षणमा सोही विद्यालयका शिक्षक सुरेश बखुन्छेंले पनि साहित्य र विद्यार्थी जीवनको महत्वबारे विद्यार्थीलाई जानकारी दिँदै कविता लेख्नका लागि अभिप्रेरित गर्नुभएको थियो ।