अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएसिया ३–० ले पराजित

भक्तपुर मंसिर २८
साविक उपविजेता क्रोएसियालाई हराउँदै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राती भएको पहिलो सेमिफाइनलमा दुई पटकको विजेता अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउन जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता लिएको थियो भने दोस्रो हापमा एक गोल थप्दै जित पक्का गरे ।
खेलको पहिलो हापमा क्रोएसियाले अर्जेन्टिनालाई लगातार दवाबमा राखेपनि गोल निकाल्न सकेन । त्यसको ठिक उल्टो अर्जेन्टिनाले गोल निकाल्दा अन्ततः सहज जित हात पार्न सफल रहे ।


अर्जेन्टिनाले खेलको ३४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता लिए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए ।
विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।


मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् । मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।
खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।
दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । अर्जेन्टिनाले पटक पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखिरह्यो ।


खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० गोलको सहज जित दिलाए । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गर्दै अर्जेन्टिनालाई छैंटौं पटक विश्वकपको फाइनलमा प्रवेश गराए ।
अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् ।