भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण लागि सरोकारवालाहरुले संयुक्त पहल गर्ने

भक्तपुर, मंसिर २७
भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका लागि सरकारी निकाय, नीजि क्षेत्र, व्यवसायी, नागरिक समाज र सरोकारवाला अन्य निकायले संयुक्तरुपमा पहल गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले १४ बुँदे निर्णय गर्दै सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका लागि संयुक्तरुपमा पहल गर्ने भएको हो । जिल्लामा सडक दुर्घटना बढ्न थालेपछि प्रशासनले यसको न्यूनिकरणका लागि अग्रसरता लिएको हो ।
बैठकले राजमार्ग तथा सडक पेटिमा जथाभावी निर्माण सामग्री र अन्य वस्तु राख्न नदिन स्थानीय तह र व्यवसायीले व्यवस्था मिलाउने, जिल्ला भित्रका सडकहरुको सम्बन्धीत कार्यालय र आयोजनाले नियमित अनुगमन गरी मर्मत सम्भार गर्ने, ट्राफिक नियमको कडाईका साथ पालना गराउन नियमित र आकस्मिकरुपमा फरक फरक स्थानमा सवारी जाँच गर्ने, सम्बन्धित सडक आयोजनाले सडकको खाल्टाखुल्टी पुर्ने, चोक चोकमा जेब्रा क्रसिङ, सडक बत्ति, ट्राफिक बत्तिको व्यवस्था गर्ने, दुर्घटनाग्रस्त स्थानको पहिचान गरी सिसी क्यामरा जडान गर्न नीजि क्षेत्र र व्यवसायीलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।


त्यसैगरी प्रचलित कानुन विपरित सञ्चालन हुने सवारी साधनलाई जिल्ला प्रहरी परिसर र जिल्ला ट्राफिक प्रहरी परिसरले नियन्त्रण तथा कारवाहीको व्यवस्था मिलाउने, ट्राफिक प्रहरी कार्यालयको समन्वय र सहजीकरणमा व्यवसायीहरुले सवारी चालक र सहचालकलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, ट्राफिक सचेतना मूलक सन्देश ट्राफिक कार्यालय र पत्रकार महासंघको समन्वयमा स्थानीय सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण गर्ने, उपयुक्त स्थानमा पार्किङको व्यवस्था गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले आत्मअनुशासन पालना गरे मात्रै पनि सडक दुर्घटनामा उल्लेख्य कमी आउने बताउनुभयो । “कसले के गरेन भन्दा पनि आफुले के गरें भन्ने मनन गर्नुपर्छ । पैदल यात्री, सवारी चालक, ट्राफिक प्रहरीलगायत सरोकारवाला सबैले आफुले पालना गर्नुपर्ने नियम र आचरणको पालना गरे दुर्घटना धेरै कमी आउँछ,” उहाँले भन्नुभयो, “तर दुर्भाग्य विभिन्न बहानामा हामी आप्mनो जिम्मेवारी पुरा गर्दैनौं ।”
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सडक र्दुघटना न्युनीकरणका लागि नगरपालिकाले अरनिको राजमार्गमा सडक बत्तीको व्यवस्थापन गर्नुका साथै मुख्य सडक र चोकहरुमा राख्नको लागि ट्राफिक संकेतयुक्त बोर्डहरु निर्माण गरी ट्राफिक प्रहरीलाई उपलब्ध गराएको जानकारी दिनुभयो ।
सचेतनाको अभाव, सरोकारवाला निकायबीच समन्वय नहुनु, सडक स्त्तोरन्नती नहुनुले पनि सडक र्दुघटना हुने गरेको बताउँदैं नगरप्रमुख श्रेष्ठले दुर्घटना नियन्त्रणका लागि नगरपालिकाले आवश्यकता अनुसार सहयोग गर्न र जिम्मेवारी अनुसारको कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको ग्रामिण भेगमा सार्वजनिक यातायातको अवस्था दयनीय भएको चर्चा गर्दै समय तालिका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले नगरपालिकाले व्यवसायीको आवश्यकता अनुसार बसपार्क निर्माण लगायत सवारी दुर्घटना न्युनीकरण र सार्वजनिक यातायातको व्यवस्थापनको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले ट्राफिक प्रहरी कार्यालयमा रहेको सवारी दुर्घटनाको चाटमा उल्लेख गरिएका कारणहरुको निराकरण गर्न सके मात्र पनि सवारी दुर्घटनाका धेरै कमी आउने बताउनुभयो । उहाँले ट्राफिक बत्तिको व्यवस्थापन हुनुपर्ने, सर्भिस लेनको सुधार हुनुपर्ने, फुटपाथको व्यवस्था हुनुपर्ने, सार्वजनिक सवारी बस बिसौनीमा मात्र रोक्नु पर्ने, चालक सहचालकहरुलाई नियमित अभिमुखीकरण गर्नुपर्ने, सवारी जाँच स्थान परिवर्तन गरी नियमित र आकस्मिकरुपमा गर्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले भक्तपुरमा साउन देखी कार्तिकसम्म चार महिनाको अवधीमा १६९ वटा सवारी दुर्घटनामा ९ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भिर घाईते भएको जानकारी दिनुभयो ।
बैठकमा व्यवसायीहरुले दुर्घटना भएपछि अनावश्यकरुपमा प्रहरीले सवारीसधान नियन्त्रणमा राख्ने, पिडितहरुले अनेक धम्की दिई क्षतिपुर्ती रकम बढाउन बाध्य पार्ने, कानुनमा स्पष्ट व्यवस्था नहुँदा घाईतेको उपचारमा लाखौं रकम खर्चनु परेको गुनासो राखेका थिए ।
वैठकमा जिल्ला समन्वय प्रमुख, नगरप्रमुखहरु, नगर उपप्रमुखहरु, काठमाडौं उपत्यका ट्राफिक कार्यालय, जिल्ला सुरक्षा समिति, राजनीतिक दल, निजीक्षेत्र यातायात व्यवसायीहरु, पत्रकार महासंघ लगायतको उपस्थित रहेको थियो ।