भक्तपुरका पत्रकारहरुलाई सेलर्डको मानव बेचविखन तथा बालसंरक्षण सम्बन्धी अभिमुखीकरण

भक्तपुर, मंसिर २६
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले सोमवार भक्तपुरका पत्रकारहरुलाई मानव बेचविखन र बाल संरक्षणसम्बन्धी अभिमुखीकरण दिइएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा आयोजित कार्यक्रममा मानव बेचविखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानूनको अवस्था, नेपालमा मानव बेचबिखन र बाल संरक्षणका घटनाको अवस्था र यसका पछिल्लो आयामहरुका बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता बाडे बैद्यले जिल्लामा मानव बेचविखनका घटना तुलनात्मकरुपमा कम हुने गरेको बताउनुभयो । उहाँले जिससले महिला बालबालिकाको क्षेत्रमा धेरै कार्य गरेको दावी गर्दै जिल्लालाई बालमैत्री बनाउने अभियानमा जिसस रहेको बताउनुभयो ।


उहाँले चाँगुनारायण नगरपालिका बालमैत्री नगर घोषणा भइसकेको बताउँदैं मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकामा पनि बालमैत्री नगर घोषणाको लागि कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले अभिमुखीकरणले जिल्लाका पत्रकारहरुको क्षमता अभिबृद्धि हुने र यसले जिल्लामा भइरहेका मानव बेचबिखनका घटनाहरु उजागर गर्नका साथै बाल संरक्षणका घटनामा कलम चलाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै सेलर्डका कोषाध्यक्ष एवम् अधिवक्ता कपिल अर्यालले मानव बेचविखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानूनहरुको जानकारी दिनुभयो । उहाँले विद्यमान ऐन कानुनले स्थानीय तहलाई बाल संरक्षणमा बढी जिम्मेवार बनाएपनि दक्ष जनशक्ति र स्रोत साधनको अभाव तथा जिम्मेवारी बहन नगर्ने परिपाटीले गर्दा सोचिए अनुसार स्थानीय पालिकाहरुले काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले पनि बाल संरक्षणका लागि स्थानीय तहको क्षमता विकास र जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान नदिएको टिप्पणी गर्नुभयो ।


उहाँले स्थानीय पालिकाहरु बालमैत्री घोषणा गर्नेमा होडबाजी गरिरहे पनि कति पय पालिकाहरुले यस सम्बन्धमा अझै ठोस योजना बनाएर अघि बढ्न नसकेको बताउनुभयो । ऐनमा भएका प्रावधान समेत स्थानीय पालिकाहरुले कार्यान्वयन गर्न ध्यान नदिएको भन्दै उहाँले गुनासो व्यक्त गर्नुभयो । ‘अहिले स्थानीय तहहरुमा बालमैत्री वडा र पालिका घोषणा गर्ने होडबाजी नै चलेको छ’, उहाँले भन्नुभयो, ‘तर, उक्त वडा र पालिकामा ऐनकानूनअनुसार बाल संरक्षण समिति गठन भएको हुँदैन । बाल संरक्षण अधिकारी नियुक्त गर्ने र तोक्ने कामसमेत भएको पाइँदैन ।’
उहाँले मानव बेचविखनमा पर्ने र बालबालिका पीडित हुने विविध कारणबारे चर्चा गर्दै बालबालिकाहरु माथि अपराध हुन नदिन, पीडामा परेपछि क्षतिपूर्तिको व्यवस्था, समाजमा पुनःस्थापनालगायतमा सञ्चारकर्मीहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


‘सञ्चारकर्मीहरुले पीडित बालबालिकाको जीवन र विकास, संरक्षण, सहभागिता र सर्वोत्तम हितका कुरामा उत्तिकै ध्यान दिनुपर्छ । कुनै पनि बालबालिका पीडित हो होइन अदालतले फैसला गर्छ । तर, ब्रेकिङको नाउँमा पीडितको गोप्यता र पारिवारिक सुरक्षालाई बेवास्ता गर्न मिल्दैन,’ उहाँले भन्नुभयो ।
यस्तै अर्का सहजकर्ता सञ्चारकर्मी जनकराज सापकोटाले नेपालबाट हुने मानव तस्करी र मानव बेचबिखनका विविध आयाम, तौर तरिकाका बारेमा जानकारी दिनुभयो । उहाँले बेचबिखनमा परेका पिडितहरु समेत आफुलाई परेको घटनाबा बारेमा खुलेर कुरा गर्न नचाहने प्रवृत्ति रहेको चर्चा गर्दै सञ्चारकर्मीहरुले अति संवेदनशिल भएर मानव बेचबिखनका घटनामा कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।


नेपालबाट वैदेशिक रोजगारी, पर्यटन, कलाकारिता र खेलकुदको माध्यमबाट पनि मानव बेचबिखनका घटना हुने गरेको यस्तो कार्यमा नाम चलेका प्रतिष्ठित व्यक्तिहरुको नाम समेत जोडिने गरेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले विदेशीहरु नेपालमा अनेक खाले सहयोगको बहानामा समेत बाल यौनदुराचार जस्ता अपराधमा जोडिएका घटनाहरुको चर्चा गर्दै सञ्चारकर्मीहरुले यस्ता घटनाहरुमा चनाखो भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अभिमुखीकरण कार्यक्रमले जिल्लाका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरु विजय देउजा ‘विस्फोट’, रत्नकाजी प्रजापति, सुरेश सैंजुलगायतले छलफलमा भाग लिँदैं कार्यक्रम फलदायी भएको चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव सन्जीप शुभचिन्तकले सञ्चालन गर्नुभएको कार्यक्रममा महासंघ भक्तपुरका संस्थापक रमेश खड्का, महासंघका सल्लाहकार रमेश गिरी, केन्द्रीय परिषद सदस्य पेशल आचार्य, महासंघ जिल्ला उपाध्यक्ष लिला श्रेष्ठ, सहसचिव हेमराज ढकाललगायत जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिव तीन दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।