मध्यपुर थिमि नगरपालिकाले गर्यो जग्गाको वर्गीकरण

भक्तपुर, मंसिर २६ ।
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको जग्गाको वर्गीकरण गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहिवार बसेको नगरकार्यपालिका बैठकले भू–उपयोग नीति र भू–उपयोग ऐनअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गरेको हो ।
नगरपालिकाले जग्गाको उपयोगिताको आधारमा नगर क्षेत्रका जग्गालाई आवासीय, व्यवसायिक, वन, सार्वजनिक उपयोग, साँस्कृतिक तथा पुरातात्विक क्षेत्रमा वर्गीकरण गरेको हो । नगरभित्र तरकारी अन्न उत्पादन हुने कृषि क्षेत्र भएपनि नगरपालिकाले जग्गाको वर्गीकरणमा कृषि क्षेत्र भने समावेश गरिएको छैन । नगरपालिकाले भू–उपयोग नियमावलीमा उल्लेख गरिएको मापदण्डअनुसार जग्गाको वर्गीकरण गरेको हो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भू–उपयोग नियमावलीमा व्यावसायिक र आवासीय जग्गाको मापदण्डअनुसार नै जग्गाको वर्गीकरण गरिएको बताउनुभयो । उहाँले नगरभित्रका जग्गालाई हाल उपयोग गरिरहेको र उपयोगिताको हिसाबले मापदण्ड बमोजिम जग्गाको वर्गीकरण गरेपनि स्थानीयको माग अनुसार कृषि क्षेत्र समावेश नगरिएको बताउनुभयो । “नगरभित्र जताततै आवास निर्माण तीब्र गतिमा बढीरहेको छ । कृषि क्षेत्र घोषणा गर्दा जग्गाको मूल्य नआउने भएकोले पनि स्थानीय जग्गाधनीहरुले नै कृषि क्षेत्र नराख्न सुझाव दिएकाले सोही अनुसार जग्गाको वर्गीकरण गरिएको हो,” उहाँले भन्नुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले पनि वडा वडामा स्थानीय नागरिकहरुको भेलामा पनि बढ्दो शहरीकरण र जनघनत्वका कारण नगरभित्र कृषि क्षेत्र घोषणा गर्न नहुने दवाव आएको बताउँदैं वडाहरुको प्रतिवेदनका आधारमा पनि नगरका जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण नगरेको जानकारी दिनुभयो ।
उक्त भू–उपयोग नियमावलीमा कृषि क्षेत्रको रेखदेख, भण्डारण तथा प्रशोधन, पशुपालन तथा उद्योग कलकारखाना सञ्चालनको प्रयोजनबाहेक नागरिक आवासका रूपमा प्रयोग भएको भवन, घरटहरा वा सो भएको जग्गालाई आवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।
त्यस्तै व्यक्तिगत घर र सोसँग जोडिएको बगैँचा, ग्यारेज आँगनलाई प्रयोग हुने व्यक्तिगत बाटो, आँगन रहेको जग्गा, एकभन्दा धेरै व्यक्ति बसोबास गर्ने अपार्टमेन्ट, बहुतले भवन वा आवासीय फ्ल्याट रहेको जग्गा आवासीय जग्गाका रूपमा उल्लेख गरिएको छ । ग्रामीण क्षेत्रमा बनेको घरआँगन चोक, घरसँगै रहेको करेसाबारी, गोठ, शौचालय, बगैँचालगायतले चर्चेको जग्गा, बसोबासका लागि आवश्यक आधारभूत पूर्वाधार सडक, विद्युत्, खानेपानी, ढल निकासलगायतको व्यवस्था भएको क्षेत्र एक हजार वर्गमिटरभन्दा सानो कित्तामा रहेको जग्गालाई अवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।
उक्त नियमावलीमै व्यावसायिक क्षेत्रअन्तर्गत सामूहिक रूपमा वस्तु तथा सेवाको खरिद तथा बिक्री हुने स्थल रहेको घरजग्गा तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा, विभिन्न किसिमको व्यापारिक तथा व्यावसायिक मनोरञ्जन स्थल रहेको क्षेत्र, सो प्रयोजनका लागि उपभोग भएको घर रहेको जग्गा व्यावसायिक क्षेत्र भनी उल्लेख गरिएको छ ।
त्यस्तै निजी क्षेत्रबाट सञ्चालन गरिएको शिक्षा, स्वास्थ्य, सञ्चार तथा सेवा उपलब्ध गराउने स्थल, कुनै वस्तु तथा यन्त्र, उपकरण मर्मतसम्भार तथा सरसफाइ गरिने स्थल वा भण्डारण गरिएको वा सो प्रयोजनका लागि प्रयोग भएको घरलाई व्यावसायिक क्षेत्र भनेर वर्गीकरण गरिएको छ ।
सोही अनुसार मध्यपुर थिमि नगरपालिकाले हाल चलन चल्तीमा उपयोग भईरहेको पसल, बैंक तथा वित्तिय संस्था, होटल, रेष्टुराँ, हाटबजार लाग्ने स्थल,, चमेनागृह, खाजा र फास्टफुड घर, व्यावसायिक प्रयोजनका लागि उपयोग गर्ने स्टोरेज क्षेत्र, सेवा प्रदान गर्ने सरकारी कार्यालय र सोले चर्चेका खाली जग्गा, निजी क्षेत्रबाट सञ्चालित अन्य कार्यालयहरु र सोले चर्चेको जग्गा, निजी क्षेत्रबाट सञ्चालित अस्पताल, विद्यालय, क्याम्पस, नर्सिङहोम, पोलिक्लिनिक, रेडियो तथा टेलिभिजन बोर्डका स्टिङ्ग संस्था, ईन्टरनेट प्रदायक संस्थालगायतलाई व्यवसायिक क्षेत्रमा वर्गीकरण गरेको छ ।
त्यसैगरी सरकारी कार्यालय रहेको स्थान र सम्भावित बजार क्षेत्रमा मुख्य चोकबाट १०० मिटरको परिधीसम्म सडकसँग जोडिएका कित्ताको क्षेत्रलाई व्यवसायिक क्षेत्रमा विभाजन गर्ने र सोको लम्ववत १०० मिटरको क्षेत्रलाई आवासिय क्षेत्रमा वर्गीकरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी नगरपालिकाले मुख्य राजमार्ग, सहायक लोकमार्ग, जिल्ला सडक र शहरी सडक (कृषि सडक बाहेक)लगायतको सडकको अधिकार क्षेत्रबाट १०० मिटरको दुरीमा रहेको दायाँबाँयाको जग्गा, ६ मिटरभन्दा बढी र १० मिटरसम्मको चौडाई भएका सडकको किनारादेखी ९० मिटरको दुरीमा रहेको दाँयाँबाँयाको जग्गा, ६ मिटरभन्दा कम चौडाई भएका सडकको किनारादेखी ८० मिटरको दुरीमा रहेको दायाँबायाँको जग्गा, हाल आवासिय प्रयोगमा रहेको घरजग्गालाई आवासिय क्षेत्रमा वर्गीकरण गरेको छ ।
नगरपालिकाले यसअघि जग्गा एकिकरण आयोजना सञ्चालन गरी व्यवस्थित घडेरी विकास गर्ने उद्देश्यले २०७७ फागुन ११ गते गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशन गरी जग्गाको खण्डीकरण, भौतिक संरचना निर्माण तथा फेरबदल र हक हस्तान्तरण गर्न रोक्का समेत गरिएको वडा नं. १, २, ३, ६, ७, ८ र ९ अन्तर्गतको कालाडोल बुढाथोकी गाउँ क्षेत्र, कोंला फाँट, राधेराधे, कुन्डोल हाडोल, मनोहरा निलवाराही क्षेत्रहरुलाई समेत आवासीय क्षेत्र कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै बाटोको चौडाई ११ मिटर वा सो भन्दा माथिका सबै सडक तथा अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो बाटो, लोहकिल्थलीदेखी सानोथिमिसम्मको सडक, मनोहरा जग्गा एकिकरण आयोजनाको मनोहरा र हनुमन्ते करिडोर, दिव्यश्वरी जग्गा एकिकरण आयोजना क्षेत्रको ८ मिटरदेखी माथिका सडक, शंखधरचोकदेखी दक्षिण बाराही जाने बाटोको पुल र पुल पश्चिम हनुमन्ते करिडोर वायरीला हुँदै अरनिको राजमार्गसम्मको सडक, अरनिको राजमार्ग चारदोबाटोदेखी हनुमन्ते पुल, कौशलटार चोकबाट हनुमन्ते पुलसम्मको सडक, लोहकिल्थली चोकदेखी बुढाथोकी गाउँ राममन्दिरसम्मको सडक, अरनिको राजमार्गदेखी मध्यपुर अस्पतालहुँदै हनुमन्ते पुलसम्मको सडक र कौशलटार चोकबाट इन्द्रकमल धारा हुँदै लोहकिल्थली सानोथिमि बाटोको संगम चोकसम्म सडकसँग जोडिएको दायाँबायाँका कित्ताहरुलाई व्यवसायिक क्षेत्र कायम गरेको छ ।
यस्तै सरकारी, सार्वजनिक तथा सामुदायिक प्रयोजनका लागि प्रयोग हुने जग्गा (सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु बाहेक)लाई सार्वजनिक उपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । यस्तै हाल उपयोगमा रहेका नदी नाला, ताल, तलैया, पोखरी (व्यक्तिको नीजि पोखरी बाहेक)लगायत पानी जन्य उपयोगमा रहेका क्षेत्रलाई नदी, खोला, ताल तथा सिमसार क्षेत्रमा वर्गीकरण गरेको छ ।

ilovepdf_pages-to-jpg (1)