मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

भक्तपुर, मंसिर २४
मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो ।
अल थुमामा स्टेडियममा सम्पन्न खेलमा मोरक्कोलाई सेमिफाइनल पुर्याउन युसेफ एन नेसरीले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले हेडमार्फत गोल गरेका हुन । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।


निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हापमा पोर्चुगलले लगातार आक्रमण गरेपनि मोरक्कोका गोलकिपर र रक्षपंक्ति बाधक बन्दा बराबरी गोल गर्न सकेन अन्ततः विश्व स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भयो ।
आफ्नो खेल करियर अन्ततिर आइपुगेका रोनाल्डोको विश्वकप उचाल्ने धोको अधुरो हुने भएको छ । अघिल्लो खेलमा समेत शुरुवाती ११ मा नपरेका रोनाल्डोले मोरक्को विरुद्धको क्वाटरफाइनलमा समेत बेन्च रहेका थिए । उनी दोस्रो हापमा मैदान प्रवेश गरेका थिए । उनले केही अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन असफल रहे ।


निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि थप गोल हुन सकेन । खेलको ईन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिराले दोस्रो पहँलो कार्ड कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए । उनले एक मिनेटको अन्तरमा दोस्रो फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए ।
बल पोसेसनमा पोर्चुगल निक्कै अगाडि रहेपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । खेलमा पोर्चुगलको बल पोसेसन ७४ प्रतिशत रहेको छ भने मोरक्कोको २६ प्रतिशत रहेको छ । मोरक्कोले ९ र पोर्चुगलले १२ पटक गोलपोष्ट प्रहार गर्दा दुवै टोलीको ३÷३ प्रहार टार्गेटमा परेको थियो । पोर्चुगलले ६६३ पास खेल्दा मोरक्कोले २४८ पास खेले । मोरक्कोले १५ फल खेल्दा पोर्चुगलले ९ फल खेले । मोरक्कोको ३ र पोर्चुगल ९ कर्नर पाए । खेलमा दुवै टोलीका एक एक खेलाडीले पहेंलो कार्ड पाए ।
पोर्चुगल सुरुवाती ११ ः
डिओगो कोस्टा, पेपे, रुवेन डियास, डिओगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, ओटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स, गोन्कालो रामोस
मोरक्को सुरुवाती ११ ः
यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत–अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन ओनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी