पहिलो हापमा पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता

भक्तपुर, मंसिर २४
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्कोले अग्रता लिएको छ । अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हापमा मोरक्कोले पोर्चुगलविरुद्ध १–० को अग्रता लिएको हो ।
मोरक्कोको लागि खेलको ४२ औं मिनेटमा युसेफ एन नेसरीले गोल गरे । उनले हेडमार्फत गोल गरेका हुन । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।
पहिलो हापको इन्ज्युरी समयमा पोर्चुगल बराबरी गोल गर्नबाट चुके । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएका थिए । तर उक्त प्रहार क्रसबारमा लाग्दै फर्कँदा पोर्चुगल बराबरी गर्न चुकेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेका छन् । बल पोसेसनमा पोर्चुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दिएको छ । पोस्टमा बढी आक्रमण पनि मोरक्कोले नै गरेको छ ।
पहिलो हापमा पोर्चुगलको बल पोसेसन ६६ प्रतिशत रहेको छ भने मोरक्कोको ३४ प्रतिशत रहेको छ । मोरक्कोले ७ पटक पोष्टमा प्रहार गरेका छन भने पोर्चुगलले ५ प्रहार गरेका छन । त्यसमा मोरक्कोको २ टार्गेट र पोर्चुगलको १ रहेको छ ।
पोर्चुगलले ३२१ पास खेल्दा मोरक्कोले १६८ पास खेलेका छन । मोरक्कोले ४ र पोर्चुगलले ६ फल खेलेका छन । मोरक्कोको ३ कर्नर हुँदा पोर्चुगलको २ कर्नर पाएका छन ।
आजको खेल जित्दै सेमिफाइनलमा प्रवेश गरे, यो उपलब्धि हासिल गर्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि मोरक्को र पोर्चुगलले विश्वकपमा दुई पटक खेलेका छन् । सन् १९८६ मा मोरक्कोले ३–१ को जित दर्ता गरेको थियो । त्यस्तै सन् २०१८ मा भने क्रिस्टियानो रोनाल्डोको हेडर गोलमा पोर्चुगल १–० ले विजयी भएको थियो ।
आजको खेलमा शुरुवातमा रोनाल्डो प्लेईङ ११ मा छैन । पछिल्लो खेलमा ह्याट्रिक गरेका फरवार्ड गोन्कालो रामोसले टोलीमा स्थान बनाएका छन । अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक सुरुवाती रोजाइमा खेल्दा नै ह्याट्रिक गरेका उनले विश्वकपमा चार गोल गरिसकेका छन् ।
यता मोरक्कोका लेफ्ट ब्याकमा खेल्दै आएका बायर्न म्युनिखका नोसेर माजराउइ र वेस्ट ह्यामका सेन्टर डिफेन्स नाएफ अगेर्ड घाईते भएका कारण टोलीमा छैनन् ।
पोर्चुगल सुरुवाती ११ ः
डिओगो कोस्टा, पेपे, रुवेन डियास, डिओगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, ओटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स, गोन्कालो रामोस
मोरक्को सुरुवाती ११ ः
यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत–अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन ओनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी