राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा गत वर्ष ३३ उजुरी दर्ता

हेटौंडा, मंसिर २४
राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा गत आर्थिक वर्ष २०७८÷०७९ मा ३३ वटा उजुरी दर्ता भएका छन । ७४औ विश्व मानव अधिकार दिवसको अवसरमा आयोगको बागमती प्रदेश कार्यालयले शनिवार हेटौंडामा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले सो जानकारी दिनुभएको हो ।
उहाँले आयोगका गतिविधि प्रस्तुत गर्दै बागमती प्रदेश कार्यालयमा ५९७ उजुरी हाल विचाराधिन रहेको र मानव अधिकारसँग सम्बन्धित विषयमा २९ पटक अनुगमन गरेको जानकारी दिनुभयो ।
त्यस्तै पुराना र नयाँ गरी १५७ उजुरीमाथि अनुसन्धान सम्पन्न गर्दै आयोगको बागमती प्रदेशका १२० उजुरी फछर्यौट भएको अधिकारीले बताउनुभयो । आयोगले विभिन्न निकायमा गरेको सिफारिसको १५.३ प्रतिशत पूर्ण र ३९.२ प्रतिशत आंशिक कार्यान्वयन भएको जनाउँदैं उहाँले ४५.५ प्रतिशत कार्यान्वयन हुन बांकी रहेको बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले आयोगले मानव अधिकार संरक्षण र प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै बागमती प्रदेश राजधानीमा आयोगको कार्यालय स्थापनाले यस प्रदेशको मानव अधिकार संरक्षण र प्रर्वद्धनमा मद्दत पुग्ने धारणा राख्नु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख ललितवहादुर घलान, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विनोद कुमार भट्टराई, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, गैर सरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डा. कृष्णप्रसाद धिताललगायतले अन्तराष्ट्रिय मानव अधिकार दिवसले मानव अधिकार संस्कृतिको विकासका लागि सवैलाई ऐक्यवद्धता जनाउन आग्रह गर्नु भएको थियो ।
कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका सचिवहरु, कार्यालय प्रमुखहरु बिभिन्न गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो ।