कप्तान केनले पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्ल्यान्ड विश्वकपबाट बाहिरियो

भक्तपुर, मंसिर २५
कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको छ । अल बायत स्टेडियममा शनिबार राती सम्पन्न अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड फ्रान्ससँग पराजित हुँदैं विश्वकपबाट बाहिरिएको हो ।
साविक विजेता फ्रान्स इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । तर, केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।


रोमान्चक खेलको १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए ।
इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो ।


तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए । फ्रान्सका चुवामेनीले बुकायो साकालाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।
यस गोलसँगै केनले वायन रुनीको नाममा रहेको इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो ।


खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो तर उसले उक्त अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो । त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २–१ ले विजयी भयो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।
मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।