सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ – अध्यक्ष नेपाल

भक्तपुर, मंसिर २४
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कटुञ्जेस्थित सुर्यनगर टोल विकास समिति र सृजनानगर टोल विकास समितिले संयुक्त रुपमा शनिवार आयोजित जनप्रतिनिधिहरुलाई शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले सांसदहरुको काँधमा राष्ट्रिय राजनीतिको जिम्मेवारी हुने भएकोले सोही अनुसार सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको हो ।
“प्रतिनिधि सभाका सांसदहरुको काँधमा राष्ट्रिय राजनीतिको जिम्मेवारी हुने भएकाले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर देश र देशको स्वाभिमानको रक्षा गर्ने, देशको मर्यादा माथि उठाउने र सांसद हुँ भन्ने गौरवलाई कायम राख्ने विषयमा गम्भिर ढंगले काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले चुनाव जित्नु मात्र ठूलो कुरा नभएको टिप्पणी गर्दै जनप्रतिनिधिहरुले जनभावना अनुरुप कार्य गर्नु ठूलो कुरा भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि आफुप्रति इमान्दार र जनताप्रति जिम्मेवार हुनुपर्ने बताउँदैं जनताप्रति सेवाको भावनाले काम गर्ने, जनताको आवाज सुन्ने र उनीहरुको आवाजलाई सम्भव भएसम्म सम्बोधन गर्ने दायित्व जनप्रतिनिधिहरुले निभाउनु पर्नेमा जोड दिनुभयो । “जनताको आवाज, ती वेदना, ती पिडाहरुको सम्बोधन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राष्ट्रको नीति निर्माणमा भक्तपुरको जनताको प्रतिनिधिको हैसियतले यहाँका जनताको भावना अनुरुप जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनुभयो । “यहाँका जनताले मलाई जुन विश्वासका साथ मत दिएर निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई टुट्न दिने छैन । यहाँको समस्या समाधान गरी विकास निर्माणका कार्यको गति बढाउन संयोजनकारी भूमिका खेल्ने छु,” उहाँले भन्नुभयो ।
बागमती प्रदेश भक्तपुर क्षेत्र नं. २ का सदस्य किरण थापाले विगतमा आफु सूर्यविनायक नगरपालिकाको जनप्रतिनिधिको रुपका कार्य गरिसकेको चर्चा गर्दै आफ्नो क्षेत्रको समस्याहरु बारे परिचित भएको र प्रदेश सभामा यहाँका समस्या समाधान गर्ने र भक्तपुरको आवश्यकता अनुरुपको नीति निर्माणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बागमती प्रदेश भक्तपुर क्षेत्र न. २ ख का सदस्य डा. राजेन्द्रमान श्रेष्ठले विगतमा पनि आफु जनताको माझमा रहेर कार्य गरेको र अहिले पनि सोही अनुरुप कार्य गर्ने बताउँदैं एउटा सांसदको हैसियतले जनताको शिर झुक्ने कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति एवम् सूर्यविनायक नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार रहनुभएका निशान ढुंगेलले विगतको निर्वाचनमा गरेको वाचा अनुरुप सधै जनताको बीचमा रहेर काम गर्ने र प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई पनि जनताको बीचमा बसेर काम गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।