सँस्कृति संरक्षण र सम्बद्र्धनका लागि मध्यपुर सञ्चार समाजको पदयात्रा

भक्तपुर, मंसिर २३
सँस्कृति संरक्षण र सम्बद्र्धनका लागि मध्यपुर सञ्चार समाजले यःमरी पुन्हीको अवसरमा बिहिवार मध्यपुर थिमिमा सम्पदा पदयात्रा गरी यःमरी पुन्ही मनाएको छ । मध्यपुर थिमिको शंखधर चोकबाट शुरु भएको पदयात्रा बोडेको कुमारीपार्कमा पुगेर समापन भएको थियो । पदयात्राको समापनपछि सहभागीहरुलाई बोडेका स्थानीय महिलाहरुले नेवारी सम्येबजीका साथै यःमरीले स्वागत सत्कार गरिएको थियो ।
पदयात्रा शंखधरचोक, बालकुमारी, दुईपोखरी, ईन्द्रायणी, दिगुली, हात्तिमहांकाल, भुँलाखेल, नगदेश, बोडेको पलेस्वाँ पुखुःहुँदैं कुमारी पुगेको थियो । पदयात्राका भक्तपुरका करिव दुई दर्जन पत्रकारहरु सहभागी भएको र उनीहरुले करिव ३ किलोमिटर पदयात्रा गर्नेक्रममा मध्यपुर थिमिका दुई दर्जन भन्दा बढी सम्पदा तथा मठमन्दिर अवलोकन गरेको समाजका सचिव एवम् नेपाल पत्रकार महासंघका सहसचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।


सो अवसरमा मध्यपुरको कला, सँस्कृति र सम्पदालाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पदयात्रा गरिएको आयोजक मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साँछें श्रेष्ठले बताउनुभयो । उहाँले पत्रकार आफै पदयात्रामा सहभागी हुँदा मध्यपुरको साँस्कृतिक महत्वलाई शब्द र चित्रमा उतारी देश बिदेशमा प्रचार गर्न सहयोग मिल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
पदयात्रामा सहभागि नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पत्रकार पेशाकर्मीका अलावा सामाजिक अगुवा समेत भएको भन्दै मध्यपुरको पर्यटन विकासमा टेवा पुर्याउने मध्यपुर सञ्चार समाजको कार्यबाट अरुले पनि सिक्नुपर्ने सुझाव दिनुभयो ।
पदयात्रामा नेपाल पत्रकार महासंघ भक्तपुरबाटसचिव संजीप शुभचिन्तक, सहसचिव हेमराज ढकाल र सदस्य रामगोपाल तमखु समेत सहभागी भएका थिए ।