विश्वशान्ति विहारका भिक्षुसहितको टोलीले माझखण्डको पोखरी डाँडा र चिहान डाँडामा ध्यान

सुनीता तुलाधार, ललितपुर, मंसिर २२ ।
विश्वशान्ति विहारका विहार प्रमखु भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा भन्तेगुरुमाहरुका साथै ४५ जना श्रामणेरहरु र उपासकउपासिकाहरुले ललितपुरको बागमती गाउँपालिकास्थित माझखण्ड बुद्ध (धातुचैत्य) विहार नजिकको पोखरी डाँडा र चिहान डाँडामा ध्यान गरेका छन । भिक्षुसहितको टोलीले मंगलवार पोखरी डाँडा र बुधवार चिहान डाँडामा ध्यान गरेको हो ।
ध्यान गर्नुअघि माझखण्ड बुद्ध (धातुचैत्य) विहारबाट स्थानीय पोखरीडाँडा र चिहान डाँडासम्म पदयात्रा गरेका थिए ।
‘अरण्य गतो वा रुख मूल गतो वा’ अर्थात ‘जंगलमा वा रुख मुनि’ बसी भिक्षुहरु ध्यान बस्छन भनेर महासतिपट्ठान सुत्तमा भगवान बुद्धले देशना गर्नुभएजस्तै सहभागी सबै जना रुख मुनि गएर ध्यान बस्नु भनेर भिक्षु बोधिज्ञान महास्थविरले दिनुभएको निर्देशनानुसार श्रामणेर, उपासकउपासिकाहरु रुख मुनि ध्यान बस्नु भएको थियो ।


सो अवसरमा त्यस स्थानमा रहेका ज्ञात अज्ञात सम्पूर्ण सत्व प्राणीहरुको मंगल कामना सहित ‘चतुरारक्खा भावना’ तथा ‘त्रिरण गमन’ पाठ समेत गरिएको थियो ।
त्यसैगरी ‘गच्छन्ति वा गच्छामिति पजानाति अर्थात गइरहेको बेला गइरहेको छु’ भनि होस राख्दै पदयात्रा गरेर चिहान डाँडाको जंगलमा ‘मरणानुस्सति ध्यान भावना’ बसेका थिए । जंगलमा, चिहान वा मसानमा ध्यान बस्दा आफूपनि एकदिन मर्नुपर्छ भन्ने विचार मनमा विकास हुने र एकान्तमा वा शून्य ठाउँमा बस्दा हुने डर त्रास हटाउन पनि यसप्रकारको ध्यान भावनाले फाइदा पुग्ने भिक्षु बोधिज्ञान महास्थविरले बताउनुभयो ।


भगवान बुद्धको पालादेखि भिक्षुहरु समसान वा चिहानमा गएर ध्यान गर्ने गरेको बताउनु हुँदैं भिक्षु वजिरसिरिले समसानमा गएर ‘सोसानिकाङ्ग’ ध्यान गर्दा अरु विधिले भन्दापनि यसले क्लेशलाई चाँडै नै हटाउन सकिने उपदेश दिनुभयो । उहाँले राग चरित्र भएका आफ्नो शरीरप्रति अति नै आशक्त भएकाहरुलाई समसानमा गएर ध्यान गर्नु उपयुक्त हुने र मरेका मानिसहरुलाई हेरेर ध्यान गर्दा आफूपनि भोलिका दिनमा मर्नुपर्ने कुरा मनमा याद आउँदा हाम्रा मनमा रहेका कयौं क्लेशहरु कमजोर भएर हराएर जाने उपदेश दिनुभयो ।


सो अवसरमा भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा सामूहिक रुपमा ‘मैत्री भावना’ पाठ गरिएको थियो भने त्यस स्थानमा रहेका ज्ञात अज्ञात सम्पूर्ण सत्व प्राणीहरुको मंगल कामना एवं पुण्यमा सहभागी होउन भनेर पुण्यानुमोदन पनि गरिएको थियो ।
समूहमा गई समसानमा बसी ध्यान गर्दा पनि मनमा डर नभएको कुरा ध्यानमा सहभागीहरुको अनुभव रहेको थियो । समसानमा ध्यान गर्दा पनि भन्ते श्रामणेरहरु लगायत उपासकउपासिकाहरुको मुहार शान्त नै देखिन्थ्याे ।