फिफा विश्वकपका क्वाटरफाइनल आजबाट शुरु, पहिलो खेल ब्राजिल क्रोएसियाबीच हुने

भक्तपुर, मंसिर २३
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आज शुक्रवारबाट शुरु हुँदैंछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल नेपाली समयानुसार आज राती ८ः४५ बजे शुरु हुनेछ ।
ब्राजिलले प्रिक्वाटरफाइनलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्रोएसिया अर्को एसियाली मुलुक जापानलाई टाईब्रेकरमा ३–१ ले हराउँदैं क्वाटरफाइनल प्रवेश गरेको हो ।
ब्राजिल पाँच पटकको विश्वकप विजेता हो । यस्तै क्रोएसिया गत संस्करणको उपविजेता हो । दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।


यस्तै दोस्रो क्वाटरफाइनलमा आजै राती अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राती १२ः४५ बजे शुरु हुनेछ ।
अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा एसियाली मुलुक अष्ट्रेलियालाई २–१ ले पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले हराउँदैं क्वाटरफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।