टाईब्रेकरमा मोरक्कोका गोलकिपर यासिन चम्किँदा स्पेन स्तब्ध

भक्तपुर, मंसिर २१
उपाधि दावेदार स्पेन कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । एजुकेसन सिटी स्टेडियममा टाईब्रेकरमा मोरोक्कोसँग पराजित हुँदैं स्पेन विश्वकपबाट बाहिरिएको हो ।
अफ्रिकी मुलुक मोरोक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनल प्रवेश गर्न सफल रह्यो । उसले टाईब्रेकरमा स्पेनलाई ३–० ले स्तब्ध पारे । निर्धारित समय ९० मिनेट र थपिएको ३० मिनेटमा समेत दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।


टाईब्रेकरमा मोरोक्कोका गोलकिपर यासिन नायक बने । उनले स्पेनमा २ पेनाल्टी रोकेर मोरोक्कोलाई पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुर्याए । टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बेनोनले गोल गर्न सकेनन् । स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।
टाईब्रेकरमा पहिलो पेनाल्टी प्रहार गर्दै मोरोक्कोका साविरीले सहज गोल गर्दै टोलीलाई १–० ले अग्रता दिलाए । स्पेनका पाब्लो सारावियाको प्रहार पोलमा लागेर फर्कियो । मोरोक्कोका गोलकिपर यासिनले सही दिशामा डाइभ दिएपनि बल पोलमा लागेर गोल हुन नसकेको हो ।


मोरोक्कोका जियाचले गोल गर्दै मोरोक्कोलाई २–० को अग्रता दिलाए । त्यसपछि स्पेनका सोलेरको प्रहार मोरोक्कोका गोलकिपर यासिनले बचाए । मोरोक्कोका बेनोनको प्रहार स्पेनी गोलरक्षक युनाई सिमोनले बचाउँदै खेलमा रोमाञ्चकता थप्नुका साथै स्पेनलाई खेलमा फर्काउने प्रयास गरे ।
स्पेनका लागि तेस्रो पेनाल्टी प्रहार गर्न आएका बुस्केट्सको प्रहारपनि यासिनले बाँयातर्फ डाइर्भदिँदैं उत्कृष्ट बचाउ गरी मोरोक्कोलाई क्वाटरफाइनल नजिक पुर्याए । मोरोक्कोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका हाकिमीले कुनै गल्ती नगरी गोल गरेपछि मोरोक्को एतिहासिक सफलतासँगै क्वाटरफाइनलमा प्रवेश गरे ।


जितसँगैं मोरोक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । यसअघि १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घानाले क्वाटरफाइनलमा स्थान बनाएको थियो । मोरोक्को यसअघि १९८६ अर्थात २६ वर्षअघि अन्तिम १६ मा पुगेको थियो । त्यो नै मोरक्कोको विश्वकपमा उत्कृष्ट नतिजा थियो । अब मोरोक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।
यता, २०१० को च्याम्पियन स्पेन लगातार दोस्रो पटक अन्तिम १६ बाटै बाहिरिएको छ । सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा रसियासँग टाइब्रेकरमा पराजित भएर बाहिरिएको थियो ।