नेवार समूदायको मौलिक पर्व ‘यःमरी पुन्ही’, धुमधामले मनाईंदै

लक्ष्मी गारु, भक्तपुर, मंसिर २२
लामो ईतिहास, संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं उपत्यका, यहाँका रैथाने नेवार समूदायले मनाईने अनेकौं चाडपर्वहरुको आप्mनै महत्व र विशेषता रहेको छ । यस्तै पर्वहरु मध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमाको अवसरमा बिहिवार धुमधामले मनाईंदैछ । नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पक्वानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन । मार्ग शुक्ल पुर्णिमाको दिन मनाईने यःमरी पुन्ही पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।
“यसपर्वमा विशेषगरी चामलको पिठोबाट बनाईने स्वादिष्ट पकवान यःमरी खाने र पुर्णिमाको दिन मनाईने भएकाले यसपर्वको नाम यःमरी पुन्ही रहन गएको हो,” सँस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेहरुका लागि मार्ग शुक्ल पुर्णिमा ठूलो पर्व हो । यसदिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन । त्यस्तै उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समूदायले पनि यसदिनलाई ठूलो दिनको रुपमा कुल पुजा, देवाली पुजा गर्ने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।
नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाईन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।


धानका भकारी लगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रही आएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।
यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।
यःमरी माग्दा यसरी गित गाउने गरिन्छ ।
त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा
अर्थात चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो यःमरी एउटा देऊ, यःमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मिठा,े त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदैं यःमरी माग्न भने जान छाडेका छन । युवावर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको सँस्कृतिकर्मीहरु बताउँछन ।


यःमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।
त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोली खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राख्ने प्रचलन पनि रहेको छ ।
यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले यःमरी पकाईन्छ । करिव ५ मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ ।


पानीको वाफबाट पकाईने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकोले नै यसको नाम यःमरी अर्थात मनपर्ने रोटी रहन गएको ईतिहास तथा सँस्कृतिविद प्रा. डा. पुर्षोत्तमलोचन श्रेष्ठ बताउँछन ।
नेवार समुदायमा यःमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हीका दिन सबैले यःमरीसहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ ।
विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान मध्ये एक हो । यःमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा.डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ,” श्रेष्ठले भन्नुभयो ।
त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ ।
वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाईन्छ । जाडो महिनामा मनाईने यःमरी पुन्हीमा पकाईने पक्वान यःमरीमा रहेको चाकु र तिलले शरिरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
यस पुर्णिमाका रातलाई सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाईन्छ । यस पुर्णिमाको भोलि पल्ट देखि यःमरीको चुच्चो जत्तिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ ।
धार्मिक कथन अनुसार तत्कालिन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पति पत्नी दुवैले गरिवहरूप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पति पत्नीको एक पटक परीक्षा गर्नुप¥यो भन्दै गरिवको भेष धारण गरी सुचन्द्रको घर आँगनमा माग्न गएछन् । गरिव रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पत्तिले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मिठो मिठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिवरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडा समेत दिई अन्तघ्र्यान भएछन् ।
कुबेरले सिकाएबमोजिम सुचन्द दम्पत्तीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा ४ दिन सम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यत्ति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।
यो चाड बौद्ध मार्गीहरूले पनि मनाउँदै आएका छन् । बौद्ध मार्गीहरूले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दू मार्गी नेवारहरूले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन ।