रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा

भक्तपुर, मंसिर २१
गोन्कालो रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राती सम्पन्न खेलमा पोचुर्गल स्विटजरल्यान्डलाई ६–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । त्यस्तै पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।
खेलमा पोर्चुगलले १७ औं मिनेटमा अग्रता लिए । रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । रामोसले जोआओ फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।


खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २–० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।
पहिलो हापमा २–० को अग्रता लिएको पोर्चुगलका लागि ५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीलाई ३–० ले अघि बढाए । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोलको दिशा दिए ।
खेलको ५५ औं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गर्दै खेलमा ४–० को अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा स्विटजरल्यान्डलाई एकान्जीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे ।


तर खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५–१ को अग्रता दिलाए । जोआ फेलिक्सको पासमा गोल गर्दै २१ वर्षीय रामोसले ह्याट्रिक पूरा गरेका हुन् । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा शुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे ।
रामोस नियमित कप्तान क्रिस्टियानो रोनाल्डोका स्थानमा शुरुवाती ११ मा परेका थिए । जारी विश्वकपमा रामोस ह्याट्रिक गर्ने पहिलो र एक मात्र खेलाडी हुन । पोर्चुगलका लागि समेत उनको यो पहिलो ह्याट्रिक हो ।
त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६–१ को सानदार जित दिलाए । उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए ।
पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई मंगलवार राती सम्पन्न खेलमा टाइब्रेकरमा ३–० ले पराजित गरेको थियो ।