भक्तपुरका ३० महिला स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानीत

भक्तपुर, मंसिर २०
भक्तपुरका ३० महिला स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानीत भएका छन । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका चार वटै पालिकाका उत्कृष्ट ३० जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरेको हो ।
सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वयम्सेविकाहरुले समय सापेक्ष सुविधा बृद्धि गर्नुपर्ने माग गरेका थिए । उनीहरुले अहिलेको महँगी र बजारभाउको अनुपातमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई वार्षिक १२ हजार रुपैंया मात्र भत्ता उपलब्ध गराउनु अन्यायपूर्ण रहेको बताएका थिए ।
उनीहरुले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले दिनरात, हिँउद वर्षा, जाडो गर्मी नभनी सेवामा खटिनुपर्ने भएकोले टर्च लाईट, छाता, बुट जुत्तालगायतको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको योगदानको कदर राज्य गर्न नसकेको बताउँदैं उनीहरुको सेवा सुविधा बृद्धिका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले मातृ तथा शिशु स्याहारको क्षेत्रमा मात्र नभई राज्यलाई आवश्यक परेको हरेक अवसरमा ठूलो जिम्मेवारीका साथ कार्य गरेको बताउनुभयो । “कोभिडको महामारी, डेंगु नियन्त्रण, निर्वाचनका बेला मतदाता शिक्षा प्रदान गर्ने, भिटामिन ए खुवाउने अभियान होस या पोलियो, हात्तिपाईले रोग विरुद्धको अभियान सबैमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ठूलो जिम्मेवारी बहन गरेको छ,” उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको योगदानकै कारण नेपालमा मातृ तथा शिशु मृत्युदरमा कमी आएको र ग्रामिण भेगका सुत्केरी आमा, गर्भवति महिला र शिशुहरुको स्वास्थ्यमा सुधार आएको चर्चा गर्दै अहिलेको परिवेशमा स्वयम्सेविकाहरुको सेवा सुविधाले उनीहरुको योगदानकै खिल्ली उडाएको टिप्पणी गर्नुभयो । उहाँले नेपाल सरकारले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई दिने सेवा सुविधामा स्थानीय पालिकाहरुले पनि केही थप गर्नुपर्ने बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको योगदानकै कारण नेपालले मातृ तथा शिशु स्वास्थ्यमा अन्तरराष्ट्रिय पुरस्कार समेत पाउन सफल भएको चर्चा गर्दै नेपालमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको अवस्था, चुनौती, अवसर र सेवा सुविधाका बारेमा प्रस्तुतीकरण मार्फत विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दिपक अछामी, भक्तपुर नगरपालिकाका जनस्वास्थ्य प्रमुख डा. रत्नसुन्दर लासिवालगायतले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।