अग्रता जोगाउन नसक्दा जापान क्रोएसियासँग टाईब्रेकरमा स्तब्ध, ब्राजिलको सहज जित

भक्तपुर, मंसिर २०
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को सोमवार राती सम्पन्न प्रिक्वाटरफाइनल खेलमा दुई एसियाली मुलुक जापान र दक्षिण कोरिया पराजित भएका छन । पहिलो खेलमा जापान क्रोएसियाविरुद्ध एक गोलको अग्रता जोगाउन नसक्दा टाईब्रेकरमा स्तब्ध भएका छन । जापान टाईब्रेकरमा ३–१ ले पराजित भए । दोस्रो खेलमा ५ पटकको पुर्वविजेता ब्राजिलले दक्षिण कोरिया ४–१ ले पराजित भए ।


अल जानुब स्टेडियममा साविक उपविजेता क्रोएसियालाई क्वाटरफाइनल प्रवेश गराउन गोलकिपर डोमिनिक लिभाकोभिच चम्किए । उनले टाईब्रेकरमा जापानका तीन पेनाल्टी रोके । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।
टाईब्रेकरमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले गोल गरे भने मार्को लिभाजा पेनाल्टीमा चुके । मार्कोको पेनाल्टी जापानका गोलकिपरले रोकेका थिए ।


जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए ।
टाईब्रेकरमा जापानले पहिलो पेनाल्ती प्रहार गरेका थिए । जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।

मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
यसअघि खेलमा जापानले अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् । जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल गरे ।


तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्कियो । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । डेजान लोभ्रेनको लामो पासमा उनको शक्तिशाली हेडर गोलरक्षक गोन्डाले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् ।
खेलको शुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । त्यसपछि जापानले बल पोसेसनमा रहँदा संयमित आक्रमण गर्दै क्रोएसियालाई दबाब दिइरह्यो । अतिरिक्त समयको पहिलो हाफमा जापानको प्रयासमा लिभाकोभिच बाधक बने । उनले पेनाल्टी क्षेत्र बाहिरबाट काओरु मितोमाले गरेको शक्तिशाली प्रहारलाई विफल पारे ।


अर्को खेलमा ब्राजिलले दक्षिण कोरियामाथी सहज जित निकाले । ब्राजिलले खेलको पहिलो हापमै ४ गोल गर्दै सहज ४–१ गोलअन्तरको सहज जित निकाल्यो । स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । दक्षिण कोरियाले दोस्रो हापमा सान्तवना गोल गरे ।
खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए ।

दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे ।
खेलको २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३–० ले अघि रह्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ–होले एक गोल फर्काएपनि ब्राजिल ४–१ ले विजयी भयो । क्वाटरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ ।