उत्कृष्ट ३ महिला स्वास्थ्य स्वयम्सेविका पुरस्कृत

भक्तपुर, मंसिर १९
भक्तपुर नगरपालिकाले सोमवार उत्कृष्ट तीन जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगदसहित पुरस्कृत गरेको छ । १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा नगरपालिकाले ती महिला स्वास्थ्य स्वयम्सेविकालाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा भक्तपुर नगरपालिका वडा नं. १० का रामलक्ष्मी दुवाल, वडा नंं ५ का सजना कवां र वडा नं. १ का शिवलक्ष्मी दुवाल रहेका छन । तीन जना मध्ये रामलक्ष्मी पहिलो, सजना दोस्रो र शिवलक्ष्मी तेस्रो भएको नगरपालिकाले जनाएको छ ।
उत्कृष्ट तीनै जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई ‘महिला सामुदायिक स्वयम्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’ नाराका साथ ख्वप अस्पतालले आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कृत गर्नुभयो ।
सो अवसरमा प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाहरू समाजको सेवा गर्ने सामाजिक कार्यकर्ताको रुपमा परिचालन हुनुपर्ने बताउँदैं स्वयम्सेविकाहरूले समुदायसँग शिष्ट र सम्मानजनक बोलीमा जनतासँग व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य स्वयम्सेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्न प्रेरित गर्नुभयो ।
नगरबासीहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न रोगहरूसम्बन्धी स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिँदैं उहाँले सामाजिक कार्यकर्ताहरू राजनीतिक कार्यकर्ताको रुपमा रुपान्तरित हुने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाको काम सम्मानजनक रहेको उल्लेख गर्दै समाज र समुदायलाई सचेत बनाउने काम स्वयम्सेविकाहरूमार्फत नै भइरहेको बताउनुभयो ।
वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले नगरमा स्वास्थ्य स्वास्थ्यस्वयम्सेविका परिचालनले नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अतिथि कृष्ण गिरी र स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार, स्वास्थ्य स्वयमसेविका मन्जु कुम्पाख र ख्वप अस्पतालका कमलकेशरी राजचललगायतले स्वास्थ्य स्वयम्सेविकाको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्नुभएको थियो ।