विश्वकप ‘गोल्डेन बुट’ दौड ः शिर्षमा उक्लिए एमवाम्पे

भक्तपुर, मंसिर १९
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ का खेल भइरहेको छ । यो समाचार तयार गर्दासम्म प्रिक्वाटरफाइनलका ४ खेल सम्पन्न भएका छन । जसमा जित हासिल गर्दै नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन ।
नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।
त्यस्तै अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे । निक्कै प्रतिष्पर्धात्मक खेलमा मेस्सीको उत्कृष्ट प्रर्दशनले अर्जेन्टिनालाई क्वाटरफाइनल पुर्याए ।
यसैगरी इंग्ल्यान्ड र फ्रान्स सहज जितका विश्वकपको क्वाटरफाइनल प्रवेश गरेका छन । अल बेयत रंगशालामा आइतवार राती सम्पन्न खेलमा इंग्ल्यान्ड अफ्रिकी मुलुक सेनेगललाई ३–० र अल थुमामा स्टेडियममा साविक विजेता फ्रान्स पोल्याण्डलाई ३–१ गोलले हराउँदैं क्वाटरफाइनल प्रवेश गरेको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । इंग्ल्यान्डलाई सहज जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।
यसैबीच कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौड रोमाञ्चक बन्दै गएको छ । नकआउट चरणको चार खेल सकिँदा फ्रान्सका किलियन एमवाम्पे ५ गोलसहित शिर्ष स्थानमा छन भने ३ गोलसहित ७ जनाले उनलाई पछ्याउँदै छन ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, नेदरल्याण्ड्स कोडी गाक्पो, इक्वेडरका इनर भ्यालेन्सिया, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कस रासफार्ड र बुकायो साका र फ्रान्सका जिरुडले तीन ÷ तीन गोल गरेका छन ।
एमवाम्पेले आइतवार राती सम्पन्न खेलमा पोल्याण्डविरुद्ध दुई गोल गरेपछि शिर्ष स्थानमा उक्लेको हो । एम्बाप्पे (फ्रान्स) ले समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अस्ट्रेलियाले विरुद्ध एक गोल गरेका थिए ।
मेस्सीले समूह चरणमा साउदी र मेक्सिको तथा अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध गोल गरेका थिए । इक्वेडरका इनर भ्यालेन्सियाले समूह चरणमा कतारविरुद्ध दुई तथा नेदरल्यण्ड्सविरुद्ध एक गोल गरेका थिए । यद्यपी इक्वेडर समूहचरणबाट बाहिरिएकोले उनको गोल संख्या बढ्न सक्ने छैन ।
नेदरल्याण्ड्स कोडी गाक्पोले समूह चरणमा सेनेगल, इक्वेडर र कतारविरुद्ध गोल गरेका छन् । स्पेनका अल्भारो मोराटाले समूह चरणमा कोस्टारिका, जर्मनी र जापानविरुद्ध गोल गरेका थिए । इंग्ल्याण्डका मार्कस रासफार्डले समूह चरणमा वेल्सविरुद्ध दुई तथा इरानविरुद्व एक गोल गरे ।
उनीहरूलाई ब्रुनो फर्नान्डेज (पोर्चुगल), काइ हाभर्टज (जर्मनी), निकल्स फुलक्रग (जर्मनी), रिचार्लिसन (ब्राजिल), फेरान टोरेस (स्पेन), मेहदी तरेमी (इरान), अलेक्सान्डर मिट्रोभिच (सर्बिया), बरेल इम्बोलो (स्विट्जरल्याण्ड), रित्सु डोआन (जापान), आन्द्रेज क्रमारिच (क्रोएसिया), चो गुइ सुङ (दक्षिण कोरिया), मोहम्मद कुडुस (घाना), सलिम अल दवसारी (साउदी अरेबिया) भिसेन्ट अबुबकार (क्यारून), जर्जियन डे अरास्काएटा (उरूग्वे) र जुलियन अल्भारेज (अर्जेन्टिना) ले समान दुई गोलका साथ पछ्याई रहेका छन् ।