इंग्ल्यान्ड र फ्रान्स सहज जितका साथ विश्वकपको क्वाटरफाइनल प्रवेश

भक्तपुर, मंसिर १९
इंग्ल्यान्ड र फ्रान्स सहज जितका साथ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेका छन । अल बेयत रंगशालामा आइतवार राती सम्पन्न खेलमा इंग्ल्यान्ड अफ्रिकी मुलुक सेनेगललाई ३–० र अल थुमामा स्टेडियममा साविक विजेता फ्रान्स पोल्याण्डलाई ३–१ गोलले हराउँदैं क्वाटरफाइनल प्रवेश गरेको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको शुरुवाती समय लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नी बाधक बन्दा फ्रान्सले अग्रता लिन सकेन । एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति गर्दा फ्रान्स अघि बढ्न सकेन । लगत्तै अर्को तर्फ पोल्यान्डले पनि अघि बढ्ने अवसर गुमाएको थियो ।


तर पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाए । खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।
पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको किर्तिमान तोडेका हुन् ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक सेचेज्नीले बचाउने कुनै अवसर पाएनन् ।


खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए । मार्कस थुरामको पासलाई पेनाल्टी क्षेत्रभित्र रोकेका एमबाप्पेले कठिन एंगलबाट सुन्दर गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार सेचेज्नीले बचाउन सकेनन् । २३ वर्षीय एमबाप्पेको यो ९ औं विश्वकप गोल हो ।
एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे । फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको हो ।


लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाएपनि रेफ्रीले पुनः प्रहार गर्ने निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने लेवान्डोस्की गोल गर्न सफल रहे । यस गोलसँगै खेल ३–१ ले फ्रान्सको पक्षमा गयो ।
अर्को खेलमा इंग्ल्यान्डलाई सहज जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलमा अग्रता लियो । जुड बेलिंघमले बायाँ विंगबाट दिएको लो पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उत्कृष्ट फिनिस गरे । काउन्टर अट्याकमा फोडेनले दिएको बल अघि बढाउँदै केनले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गर्दै जारी विश्वकपमा गोलको खाता खोले ।
खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए । साकाले फोडेनको पासमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढ्दै पहिलो टचमै गोल गरे ।
अब क्वाटरफाइनलमा फ्रान्स र इग्ल्यान्ड आमनेसामने हुनेछ ।