शिक्षालयलाई राजनीतिमुक्त बनाउन हुँदैन – प्रदेश सभा सदस्य गोसाईं

भक्तपुर, मंसिर १८
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित बागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले शिक्षालयलाई राजनीतिमुक्त बनाउन नहुने बताउनुभएको छ । भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद कलेजको शनिवार सम्पन्न आठौं वार्षिक साधारणसभामा गोसाईंले शासक दलहरूले राजनीति गर्न नहुने भन्दै कामदार जनतालाई भ्रममा राखी राजनीतिबाट टाढा राख्दा देश पछाडि धकेलिएको चर्चा गर्दै विद्यार्थीहरुलाई पनि राजनीतिक ज्ञान दिलाउन शिक्षालयमा राजनीति आवश्यक भएको बताउनुभएको हो ।
उहाँले शिक्षालय विचार उत्पादन गर्ने केन्द्र रहेकाले शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त गर्दा अराजकता फैलिने बताउनुभयो । “विगत ३० वर्षमा सरकारमा गएका दलहरूले शिक्षालाई ध्वस्त बनाए,” उहाँले भन्नुभयो, “शासक दलकै कारण त्रिविविमा पढेका हैन, अक्सफोर्ड, क्याम्ब्रिज, जवाहरलाल नेहरू युनिभर्सिटी पढेकाहरू राजनीतिमा आएका छन । त्यसको मुख्य दोषी काँग्रेस, एमाले, माओवादीका नेताहरू हुन् ।”
विकासको मुख्य आधार र बिउ नै शिक्षा भएकाले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै गोसाईँले पार्टीले अघि सारेको ख्वप विश्वविद्यालय स्थापनाका लागि निरन्तर रूपमा संघर्ष गर्ने उल्लेख गर्नुभयो ।
कलेजका प्राचार्य श्रीकृष्ण किसीले कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै हाल कलेजमा २१९ विद्यार्थी अध्ययन गरिरहेको र कलेजमा बिएड र विविएस विषयको पठनपाठन भइरहेको जानकारी दिनुभयो ।
३९ जना जनशक्ति रहेको सो कलेजले त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षामा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण गराई रहेको छ । गत वर्ष १० लाख ४७ हजारको छात्रवृत्ति वितरण गरेको कलेजले चालू आर्थिक वर्षमा ११ लाखको छात्रवृत्ति दिने कार्यक्रम रहेको प्राचार्य किसीले बताउनुभयो ।
कलेजका सहप्राचार्य चक्रबहादुर चाकतुले कलेजको आर्थिक प्रतिवेदन पेश गरेका थिए । उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन तथा एक घर एक स्नातकलाई सार्थक बनाउनका लागि कलेजले योगदान दिइरहेको दावी गर्नुभयो । उहाँले कलेज सामुदायिक भएकाले समुदायसँग सहकार्य गरिरहेको समेत बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मणराज जोशीले अध्यापनमा शिक्षकको समर्पणले मात्र शैक्षिक सुधार हुने चर्चा गर्दै शिक्षकले झारा टार्नेमात्र काम गर्न नहुनेमा जोड दिनुभयो ।
कलेजका उपप्राध्यापक प्रेमजन थापाश्रेष्ठले कलेजबाट दीक्षित विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा स्थापित हुन सफल रहेको चर्चा गर्दै कलेजले देशको आवश्यकता अनुसार शैक्षिक जनशक्ति उत्पादनका लागि लगानी गरिरहेको समेत बताउनुभयो ।
कलेजका सहायक प्रशासक एवम् शिक्षक राकेश सुकुपायोले कलेजको ऐतिहासिक पक्षका साथ कलेज गरिरहेको शैक्षिक गतिविधिबारे जानकारी दिनुभयो । कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्दव सुजखुले कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि सामूहिक रुपमा लागिरहेको चर्चा गर्नुभयो ।