भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण सम्पन्न

भक्तपुर, मंसिर १८
भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेँस्थित भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताउनुभयो ।
देशभरिका स्थानीय तहहरुले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका क्षेत्रमा गरेका गतिविधिहरुलाई अनुकरण गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको सवालमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
उहाँले भक्तपुर नपाले आफ्ना गतिविधि पारदर्शी ढंगले विभिन्न सञ्चारमाध्यम र प्रकाशनमार्फत सार्वजनिक गर्दै आएको जानकारी दिँदैं शिक्षा र स्वास्थ्यको सन्तुलित विकासले भक्तपुरबासी जनताको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको दावी गर्नुभयो । ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पोखरी जीर्णेद्धार तथा मर्मत कार्यको लागि उपभोक्ता समितिमा बसेर काम गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै वडा नं. ६ मा भइरहेको विकास निर्माणका गतिविधिहरुबारे अवगत गराउनुभयो ।
त्यस्तै कार्यपालिका सदस्य रोशन मैंया सुवालले भक्तपुर नपाले यहाँका मूर्त अमूर्त सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै आइरहेको दावी गर्दै पोखरी पुनःनिर्माणको हिसाबकिताब जनतामाझ सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको बताउनुभयो ।
त्यस्तै वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पोखरी पुनःनिर्माणसँगै भोलाछेँ टोलको सुन्दरता थपेको बताउनुभयो ।
भोलाछेँ पोखरी सार्वजनिक परीक्षण कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णभक्त नायभारी, कोषाध्यक्ष सुरज बजिको र सचिव सानुमैया बजिकोलगायतले पोखरी निर्माणमा भएका विविध पक्ष र आय व्यय विवरणका बारेमा स्पष्ट पार्नुभएको थियो ।