नेदरल्यान्ड्स र आत्मघाती गोलका बावजुद् अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा

भक्तपुर, मंसिर १८
खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २ १ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे । निक्कै प्रतिष्पर्धात्मक खेलमा मेस्सीको उत्कृष्ट प्रर्दशनले अर्जेन्टिनालाई क्वाटरफाइनल पुर्याए । अष्ट्रेलियाले अर्जेन्टिनालाई मैदानको मध्यभागमा खेल्न नदिने रणनीति अनुसार मिडफिल्डलाई बलियो बनाएको थियो । दुवै टोलीले धेरै समय बल आफ्नै हापमा खेलीरहेको थियो ।


अष्ट्रेलियाले मेस्सीलाई रोक्न खेलको शुरुवातदेखी नै एक खेलाडीले मार्क गरिरहेको थियो । तर ३५ औं मिनेटमा मेस्सीले उक्त मार्कलाई तोड्न सफल भए । मेस्सीले आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो ।
विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।
दोस्रो हाफ सुरु भएपछि अर्जेन्टिनाले मिडफिल्डर गोमेजको स्थानमा डिफेन्डर लिसान्द्रो मार्टिनेज प्रवेश गरायो । विंगब्याकलाई आक्रमणमा प्रयोग गर्दै अर्जेन्टिनाले लगातार बल आफैंसँग राख्ने प्रयास गरेको थियो ।


खेलको ५८ औं मिनेटमा अर्जेन्टिनाले गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्यो । जुलियन अल्भारेजले गोलरक्षकबाट फुस्किएको बलमा सहजै गोल गरे । रायनले ६ यार्ड बक्सभित्र क्लिअरेन्स गर्न ढिलो गरेपछि रोड्रीगो डे पलले उनलाई दबाब दिएका थिए । त्यस क्रममा अल्भारेजले फुस्किएको बललाई पोस्टतर्फ पठाएर २–० ले अघि बढाए ।

खेलको ७७ औं मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले आत्मघाती गोल गर्न पुगे । वैकल्पिक खेलाडी अष्ट्रेलियाका क्रेग गुडविनले मैदान प्रवेश गरेको १५ औं मिनेटमा गरेको शक्तिशाली प्रहार क्लियर गर्ने क्रममा फर्नान्डेजले आत्मघाती गोल गर्न पुगेका थिए ।


जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । नेदरल्यान्ड्सले शनिवार राती नै सम्पन्न नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३–१ ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।
नेदरल्यान्ड्सले खेलको १० औं मिनेटमा डिपेको गोलले अग्रता लिए । डिपेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् । अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो ।
पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए । डम्फ्रिजको क्रसमा ब्लाइन्डले गोल गरेका हुन ।
खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २–१ को स्थितिमा ल्याए । क्रिस्टियन पुलिसिचले दिएको लो क्रस ६ यार्ड बक्समा राइट र डच डिफेन्डरहरुको बिचमा आउँदा बल उनको खुट्टामा लाग्दै गोल भएको थियो । डम्फ्रिजले गोललाइनबाट बललाई क्लियर गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन ।
त्यसपछि खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ को सहज जित दिलाए । जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बन्यो ।