समूह जी मा ब्राजिल र स्विटजरल्यान्ड नकआउट चरणमा

भक्तपुर, मंसिर १७
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को अन्तिम खेलमा रोमाञ्चकारी जित निकाल्दै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ भने हारका बावजुद् ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
स्वीस टोलीले सर्बियामाथि ३–२ को रोमाञ्चक जित निकाले । रोमाञ्चक खेलमा शेरदान शाकिरीले २० औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए । मोहमाथ सोउले पेनाल्टी क्षेत्रभित्र मिलाएको पासमा शाकिरीले गरेको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।
खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान डुसान टाडिचको क्रसलाई मित्रोभिचले हेडरमार्फत गोल गरेका थिए । उनको हेडर गोलरक्षक कोबेलले बचाउन सकेनन् ।
३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए । मित्रोभिचले स्विस डिफेन्स र मिडफिल्डको बिचमा फुस्किएको बल अघि बढाउँदै खेलेको चलाखीपूर्ण पास खेले । उक्त पासलाई स्वीस डिफेन्सले क्लियर गर्न नसक्दा भ्लाहोभिचले गोलरक्षक कोबेललाई कुनै अवसर नदिई गोलमा परिणत गरे ।


तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २–२ को बराबरीमा ल्याए । सिल्भान विडमरको लो क्रसलाई ब्रील एम्बोलोले सहजै गोलमा परिणत गरे ।
दोस्रो हाफको शुरुवातमै स्वीस टोली टिम मुभमा सुन्दर गोल गर्दै ३–२ ले अघि बढ्यो । खेलको ४८ औं मिनेटमा रेमो फ्रुएलरले अन्तिम प्रहारमार्फत गोल गरेपनि एम्बोलो र सोउले एक आपसमा पास खेल्दै सर्बियाको डिफेन्सलाई बल बचाउने कुनै अवसर दिएनन् । अन्ततः त्यही गोल निर्णायक बन्यो स्वीस टोलीले खेल जित्नुका साथै अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
त्यसैगरी अर्को खेलमा क्यामरुनले ब्राजिलमाथि १–० को जित निकाल्यो, तर जितका बावजुद क्यामरुन प्रतियोगिताबाट भने बाहिरियो । लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । गोलको सेलिब्रेसन मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए ।


नकआउट चरणमा स्थान पक्का भइसकेको कारण मुख्य खेलाडीलाई विश्राम दिएको ब्राजिलले आक्रमणमा बिर्सनलायक प्रदर्शन गर्यो । सुरुवाती रोजाइमा खेलेका ग्याब्रीएल जेसस र उनको स्थानमा आएका पेड्रो दुवैले प्राप्त अवसरको सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेन । दोस्रो हाफमा पनि खेलको कथा पहिलो हाफजस्तै रहयो ।
यस हारका बाबजुद ब्राजिल समूह विजेता बनेको छ । ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।