जितका बावजुद पुर्व विजेता उरुग्वे विश्वकपबाट बाहिरियो, सनसनीपूर्ण जितसहित दक्षिण कोरिया नकआउट चरणमा प्रवेश

भक्तपुर, मंसिर १७
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा दक्षिण कोरिया सबैभन्दा बढी भाग्यमानी टोली सावित भएको छ । समूह एचमा उरुग्वेसँग अंक र गोल अन्तर बराबर भएपनि दक्षिण कोरिया बढी गोल गरेको आधारमा उरुग्वेलाई पछि पार्दै दोस्रो चरणमा प्रवेश गर्दै भाग्यमानी टोली बनेको हो ।
दक्षिण कोरियाले ४ गोल गर्दा ४ गोल नै खाएको थियो भने उरुग्वेले २ गोल गर्नुका साथै २ गोल व्यहोरेको थियो । दुवै टोलीको ३ खेलबाट ४ अंक र गोल अन्तर शुन्य थियो । फिफाको नियमअनुसार दक्षिण कोरियाले ४ गोल गरेको आधारमा नकआउट चरण प्रवेश गरेको हो ।

अल जानुब स्टेडियममा सम्पन्न शुक्रवार राती सम्पन्न खेलमा उरुग्वेले घाना विरुद्ध जित निकाले पनि प्रतियोगिताबाट बाहिरियो । उरुग्वेको जितमा जर्जियन डी अरेस्काटाले दुई गोल गरे । यसअघि खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।
खेलको २६ औं मिनेटमा जिअर्जिअन डे अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए । अरेस्काटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे । लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरेस्काटाले गोल गरेका हुन ।
त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । उनले सुआरेजले दिएको पासलाई सदुपयोग गरी गोल गरेका हुन । हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गर्दै उरुग्वेको अग्रता दोब्बर पारेका हुन । खेलमा त्यसपछि थप गोल हुन नसकेपछि उरुग्वे विश्वकपमा पहिलो जित निकाल्यो । जित निकालेपनि अर्को खेलमा दक्षिण कोरियाले पार्चुगललाई पराजित गरेपछि उरुग्वे विश्वकपबाट बाहिरियो ।


अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगलविरुद्ध सनसनीपूर्ण जित निकाल्यो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदैं दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पराजित गर्दै समूह एच को उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गर्यो । रोमाञ्चक खेलमा पोर्चुगलले शुरुवाती अग्रता लियो । पोर्चुगलले खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाको गोलमा शुरुआती अग्रता लिएको हो । डिओगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।


तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ–ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।
दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले गोल गर्दै खेल र समूहको समिकरणमा नै फेरबदल गरे । पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए । सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले गोलमा परिणत गरे । चानको गोलले लगभग प्रतियोगिताबाट बाहिरी सकेको दक्षिण कोरिया प्रतियोगिताको दोस्रो चरणका प्रवेश गर्यो भने उरुग्वे जितका बावजुद् घर फर्किन बाध्य पार्यो ।