बाैद्ध निबन्ध प्रतियोगितामा पुष्प रत्न प्रथम

सुनीता तुलाधर, काठमाण्डौं, मंसिर १८
लुम्बिनी नेप्लिज् बुद्धधर्म सोसाइटी, युके र युवक बौद्ध समूह काठमाण्डौले संयुक्त रुपमा आयोजना गरेको ‘मानसिक स्वास्थ्यको लागि बुद्ध शिक्षा’ विषयक निबन्ध प्रतियोगिताका विजयीहरुलाई शनिवार काठमाण्डौको भृकुटीमण्डपस्थित बुद्ध विहारमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा पुष्प रत्न तुलाधर प्रथम हुनुभयो भने दोश्रो दीना कंसाकार, तेश्रो जमुना गोसाईं र सरोज कुमार बज्राचार्यले सान्त्वना पुरस्कार जित्नु भएको थियो ।
कार्यक्रममा बुद्ध विहारका विहार प्रमुख भिक्षु कोण्डन्य महास्थविरले विजयी सबै प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै सोसाईटीका उपाध्यक्ष अमृत रत्न स्थापितले विजयीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
सो अवसरमा भिक्षु कोण्डन्य महास्थविरले बुद्ध शिक्षालाई “जीवन जिउने कला”का रुपमा हामीले दैनिक जीवन सफलतापूर्वक, सुखी भई अघि बढाउन महत्वपूर्ण हुने बताउनुहुँदै मानसिक स्वास्थ्य वा मानसिक विकास वा मानसिक संस्कार जुनसुकै अवधारणामा काम गरेतापनि हामीले मनलाई सम्हालेर कसरी अघि बढ्ने, मनलाई कसरी नियन्त्रणमा राखी अघि बढ्ने आदि कुराहरुलाई प्रतियोगीहरुले आ–आफ्ना निवन्धमा राम्ररी नै प्रस्तुत गरेको बताउनुभयो ।
निर्णायक मण्डलका सदस्य अमिता धाख्वाले कसरी प्रतियोगीतामा सम्मिलित निवन्धहरुको मूल्यांकन गरियो भन्ने विषयमा प्रकाश पार्नुहुँदै केही अंकले मात्रै प्रथम दुतिय भएको उल्लेख गर्नुभयो । कार्यक्रममा निर्णायक मण्डल लगायत विजयी प्रतियोगीहरुले पनि आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।