कतार विश्वकप – मोरोक्को अघि बढ्दा उपाधी दावेदार बेल्जियम घर फर्कियो

भक्तपुर, मंसिर १५
क्रोएसियाले बराबरीमा रोकेपछि फुटबलको शक्ति राष्ट्र बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ । नकआउट चरणमा प्रवेशका लागि जित्नै पर्ने खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको हो ।
समूहको अर्को खेलमा मोरोक्कोले क्यानाडालाई पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरे । जितसँगै मोरोक्को ३ खेलमा ७ अंक बटुल्दै समूह विजेता बने । क्रोएसिया ३ खेलमा एक जित र दुई बराबरीसका साथ ५ अंक सहित समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे ।


अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमले गोलका थुप्रै अवसर खेर फाले । खेलको १३ औं मिनेटमा केभिन डे ब्रुएनको पासमा ड्रिज मर्टेन्सको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै अर्कोतर्फ पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोले फल गर्दा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए । तर भिडियो एसिसेन्ट रेफ्रीले उक्त मुभका क्रममा अफसाइड घोषित गरे ।
दोस्रो हाफमा बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतार्यो । ६२ औं मिनेटमा लुकाकुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । उनले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै थ्रो इनका लागि बाहिरियो ।


लगत्तै लुकाकुले अर्को अवसरको पनि सदुपयोग गर्न सकेनन् । यसपटक डे ब्रुएनको क्रसमा गोलरक्षक बिट भएपनि उनले हेडरलाई पोस्टको दिशा दिन सकेनन् । ८५ औं मिनेटमा थोमस मुनिएरकै पासमा लुकाकुको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ९० औं मिनेटमा लुकाकु गोललाइन नजिकबाट गोल गर्न चुक्दा बेल्जियम नकआउट चरणमा पुग्न बन्चित भयो ।
यसैगरी अर्को खेलमा अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा पुगेको हो ।


मोरक्कोलाई जित दिलाउन हाकिम जिएच र युसुफ एन नेसरीले एक एक गोल गरे । क्यानडाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको चौंथो मिनेटमा जिएचले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा युसुफले गोल गर्दा मोरक्को २–० ले अघि रह्यो ।
त्यसपछि खेलको ४० औं मिनेटमा मोरक्कोकै नायेफ अगुएर्डले आत्मघाती गोल गरेपनि क्यानडा २–१ ले पराजित भयो । मोरक्को १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । क्यानडा भने अंक विहीन बन्दै घर फर्किएको छ ।